लाशमाथिको ‘महाभोज’

नवीन पौडेल     ९ आश्विन २०७६, बिहीबार १२:५६    

नवीन पौडेल

काठमाडौँ, ९ असोज  :  ‘बेवारिसे लाशलाई लुछिलुछी खाँन्छन् गिद्धहरुले, तर मेरो लास बेवारिसे होइन, मेरो आमा छिन् र बा पनि’, काठमाडौँको अनामनगरस्थित मण्डला थिएटरको प्रेक्षालयमा आवाज गुञ्जिन्छ ।

 

चकमन्न थिएटरको अँध्यारो कोठामा भरिभराउ दर्शकको मन सिरिङ्ग पार्नेगरी आएको दृश्यसहितको आवजलेनै बोलिरहेको थियो कारुणिक कथा । सन् १९३१ मा भारतको मध्यप्रदेशमा जन्मेकी मन्नु भण्डारीले सन् १९७९ मा लेखेको उपन्यास हो ‘महाभोज’ ।

 

भारतको लोकसभा र विधानसभाको उपनिर्वाचनको समय, दलित युवाको हत्या र सोही शव ९लाश० मा हुने राजनीतिको अवस्था बोकेको उपन्यास महाभोजको नाट्य रुपान्तरण पनि मन्नुले नै गर्नुभएको थियो । सोही उपन्यासलाई कवि विप्लव ‘प्रतिक’ले नेपालीमा नाट्य रुपान्तरण गर्नुभएको छ । मण्डला थिएटरमा प्रदर्शन भइरहेको उक्त नाटक कताकता नेपालको वर्तमान घटनापरिघटनासँग पनि मिल्दोजुल्दो देखिन्छ ।

 

सीतापुर गाउँको कथा बोलेको छ उक्त नाटकले । शहरबाट मुश्किलले २० किलोमिटर दूरीको उक्त गाउँ केही वर्षअघि भने टाढाको लाग्थ्यो । गाउँमा घटना घटे शहरले सुइकोसमेत पाउँदैनथ्यो । तर, अचेल त्यो दुरी रहेन ।

 

एक दिन गाउँको पुच्छारमा रहेको दलित बस्तीमा आगो लाग्यो । नौजना मानिससहित झुप्रा जले । बचेका मानिस दौडादौड गरेर चौकी पुगे । त्यसदिन ‘सई साहेब’ छुट्टीमा थिए । शहरको दमकलको फोन पनि उठेन।।।।।। शवमाथि अब यहीबाट राजनीति शुरु हुन्छ । घटना मन्त्रीसम्म पुग्छ ।

त्यही गाउँको घटनाका जानकार विद्रोही स्वभावका युवा विसु हुन्छन् । उनको रहस्यमय मृत्युु हुन्छ । हतारमा ‘पोष्टमार्टम’ गरेर शव जलेपनि घटना सेलाउँदैन । घटनाले सञ्चारमाध्यममा उच्चस्थान पाएपछि राजनीति शुरु हुन्छ । मुख्यमन्त्रीकोमा घटना पुग्छ । तर, जसरी दोषी पत्ता लगाउने हो त्यो हुँदैन । हुन्छ त जालझेल र षड्यन्त्र मात्रै । यस्तैयस्तैमा कथा घुम्छ । अन्त्यमा, त्यही खुशीयालीमा महाभोज गरिन्छ ।

चालिस वर्षअघि लेखिएको ‘महाभोज’ अहिले पनि नेपाली समाजमा घट्नेघटनासँग मिल्दोजुल्दो छ । राजनीति, प्रहरी र पत्रकारिताको विकृत रुपलाई नाटकले उतारेको छ ।

निर्देशक अनुप बराल भन्नुहुन्छ, “षडयन्त्रको चक्रब्यूहभित्र जनता कसरी फसेका छन्, निर्वल आम मान्छेको छटपटी, आक्रोस, र निराशाको गम्भीर गाथा बुनेको छ नाटकले ।” उहाँले नाटकमा समकालीन घटनालाई ऐतिहासिक समयमा हेर्ने प्रयत्न गरिएको बताउनुभयो । राजनीति र सामाजिक अन्तरविरोधलाई नाटकले देखाइदिएको छ । भ्रष्ट राजनीतिले समाजलाई नै विसङ्गत बनाइदिन्छ भन्ने सजिव चित्रण हो नाटक ‘महाभोज’ ।

 

दलित बस्तीमा भएको आगजनीको तथ्य खोज्दा विसु मारिनु, चुनावको समयमा प्रहरी, पत्रकार र राजनीतिक गठजोड र सम्झौता कथाका मार्मिक विषय हुन् । शुरुमा आत्महत्या, अनि हत्या र पछि आफ्नै साथीबाट मारिएको प्रतिवेदन बनाइनु । अनि विसु हत्याको विरोध गरिरहेको मित्रलाइ नै हत्यारा बकाइनु र चरम यातनाबाट हिरासतमै ज्यान लिइनुले समाजमा हुने विकृतिको पाटोलाई नाटकले छर्लङ्ग पारेको छ ।

तथ्यभन्दा भावना र बहकाउमा लाग्ने पत्रकारितालाई समेत नाटकले व्यङ्ग्य गरेको छ । अन्ततः राजनीतिबाट प्राप्त साझा सफलतामा सबैको ‘महाभोज’ चल्छ । यही तीन ‘पी’ प्रेस, पोलिटिक्स र पुलिसको भोज हो नाटक ‘महाभोज’ ।

 

भारतीय साहित्यकार मन्नुुको उपन्यासबाट अनुवाद गरिए पनि ‘महाभोज’मा मौलिकता छ । नाटकमा विप्लव प्रतिक, रमेश बुढाथोकी, राजन खतिवडा, सिर्जना सुब्बा, बुद्धि तामाङ, राज न्यौपाने, विजय बराल, प्रदीपकुमार चौधरी, सोमनाथ खनाल, घनश्याम जोशीलगायत कलाकारले अभिनय गरेका छन् ।

 

गजवको नाटक रहेको प्रतिक्रिया दिँदै काठमाडौँ रामकोटका दीपेश खनालले भन्नुभयो, “अहिलेको समाजसँग मिल्दो जुल्दो छ, एउटा नागरिकको मृत्युमा राजनीति गरेर कसरी फाइदा लिन केसम्म गरिँदो रहेछ भनेर यसले प्रष्ट देखाइदिएको छ ।”


९ आश्विन २०७६, बिहीबार १२:५६ मा प्रकाशित