एनआरएनए: चुनावताका हल्लीखल्ली , जितेपछि हाहू

प्रा. डा. दुर्गा दाहाल, “ अनुभव"     ९ आश्विन २०७६, बिहीबार १६:०६    

प्रा. डा. दुर्गा दाहाल, “ अनुभव”

NRNA  को मूलभूत लक्ष्य र उद्देश्य अत्यन्त राम्रो छ तर यो संस्थाले आफ्नो प्राथमिकता छुट्टयाउन सकेन र सबैलाई समेटन पनि सकेको छैन भन्दा यस्का अभियन्ताहरूले छक्क मान्नु पर्दन ।

हो ! यो संस्था कुईरोको काग भएकै छ । केवल दुई चारवटा सम्मेलन गरेर मात्रै यस्को कर्तव्य र दायित्व पूरा हुँदैन । अरुबेला निष्क्रिय भएर केवल चुनावताका हल्लीखल्ली गरेर,  पद हासिल गरेर, हाहू गरेर आफ्नो कार्यकाल बिताउनु अत्यन्त लज्जास्पद कार्य हो ।

मैले र अन्य साथीहरूले बारम्बार लिखित र मौखिक रूपमा NRNA को कार्यदिशा बारे आ-आफ्ना अभिव्यक्तिहरू दिई रहेकै छौँ तर हाम्रा नेताहरूको “सुन्नेबानी” छैन किनभने हामी नेपालबाट आएका हौँ । नेपालमै  उत्पादित, शिक्षित र दीक्षित नेताहरू NRNA का पनि अगुवा भएकाले आफ्नै पाराका छन ।

यो NRNA कसैको क़ब्ज़ामा भएको पनि प्रतीत भएको  छ । यसले मूलभूत रूपमा विदेश/ प्रवासमा रहने नेपालीहरूको वृहत्तर हित र स्वार्थको हितमा काम गर्न नसकेको कुरा यसको लोकप्रियता र मतदाता संख्या घटतै गएको सत्यांक  र तथ्यांक बाटनै प्रष्ट छ ।

NRNA को आवश्यकता र उपादेयता छ तर सही दिशा र कार्यविधि भएको खण्डमा मात्रै उक्त कुराको पुष्ट्याईँ हुन्छ । NRN को मंच, लोगो र लेटर प्याड दुरूपयोग भई रहेको र केवल मुट्ठीभर नेता र व्यक्तिहरूको आदेश, निर्णय र हुकुमबाट यो संस्था चलि रहेको छ ।

कैयौँ देशका NRNA अध्यक्ष र पदाधिकारीहरू लाचार स्थितिमा छन किनभने उनीहरूको आफ्नो विचार र भावनाहरू अन्तराष्ट्रीय NRNA मा सुनिएको, खोजिएको र आदर गरिएको छैन । एक किसिमको सिन्डिकेट यहाँ पनि देखियो । कतिपय अवस्थामा त अहिले नेतृत्व भीतरका नेताहरूको भन्दा नेतृत्व इतरका नेताहरूको हावी देखिएको छ ।

वास्तवमा, NRNA का नेताहरूले नेपालीहरूको सामुदायिक स्वार्थ भन्दा पनि आफ्नो निहित व्यक्तिगत स्वार्थका निम्ति पनि यो संस्थालाई उपयोग गरिएको पाईयो । नेतृत्व हातमा लिएर सामुदायिक कार्य गर्ने निहूँमा, अर्थ र राजनैतिक नेताहरूको आड़मा नजानिँदो पाराले आँफूलाई विभिन्न किसिमको लाभ लिएको पनि पाईएको छ ।

NRNA का नेताहरूमा ख़ास गरि दुईवटा अत्यावश्यकीय गुणहरू पाईएन जुन संसारभरिका अधवैँशे र वृद्ध नेपाली नेताहरूमा ( अपवाद बाहेक ) पटक्कै छैन । ती हुन:
१. जिम्नेमेवारीपन (accountability )
२. पारदर्शिता ( transparency )

उपर्युक्त दुईवटा गुणहरू नहुने बित्तिकै नेतृत्व असफल र बदनाम हुन्छ । यद्यपि दुइवटा विशेषण हरूको कमी देखियो तर त्यसले सारा संस्थालाइ म़ृततुल्य र निस्तेज बनाउँछ ।

नेपालका  प्रधानमंत्री र मंत्रीहरू, विभिन्न राजनैतिक दलका नेताहरबाट संक्रमित हुँदै यो विश्वभरिका नेपाली संघ- संस्थाहरूमा फैलिएको छ ! कारण: पुरानो स्कूल, दंभी प्रवृत्ति, कोठे नीच र घृणित राजनीति तथा अप्रजातांत्रिक  संस्कार आदि- इत्यादि । धेरै व्याख्या गर्नै पर्दैन ।

अत: NRNA को आसन्न काठमाण्डू  महायज्ञमा आफ्ना कमी- कमजोरी हरूलाई पनि केलाई समसामयिक निर्णय र दिशाबोध गर्नु पर्छ ।  आगामी वर्षहरूको क्यालेण्डर बनाउनु पर्छ र समावेशी तथा हरेक राष्ट्रको जनसंख्याको  आधारमा समानुपातिक पनि बनाउनु पर्छ ।

यो संस्थालाई कुहिरो र सिन्डिकेटबाट निकालि जिममेवार, पारदर्शी र प्रजातांत्रिक बनाउनु पर्छ । प्रजातांत्रिक मूल्य- मान्यता र संस्कारहरूले गुणयुक्त उम्मेदवार हरूलाई जिताउनु पर्छ र स्वदेश र विदेशको बीचमा सेतु निर्माणको कार्य गरि पारस्परिक सहयोग, सद्भावना र सहकार्यको मार्ग प्रशस्त गराउनु पर्छ ।

( क्यालिफोर्निया निवासी प्रा . डा. दुर्गा दाहाल स्वयं पनि NRNA का आजीवन सदस्य र सामाजिक अभियन्ता हुनुहुन्छ )


९ आश्विन २०७६, बिहीबार १६:०६ मा प्रकाशित