‘खुला सिमानाका कारण शान्ति सुरक्षामा चुनौती’

दूरबिन नेपाल     ११ आश्विन २०७६, शनिबार १३:५०    

धनुषा, ११ असोज (रासस) : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भारतसँगको खुला सिमानाका कारण शान्ति सुरक्षा कायम गर्न चुनौती रहेको बताउनुभएको छ । शुक्रबारदेखि जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज दोस्रो दिन सम्बोधन गर्दै उहाँले प्रदेशका सबै जिल्ला भारतसँग जोडिएर रहेका र सीमाक्षेत्र खुल्ला हुँदा शान्तिसुरक्षा कायम गर्न चुनौती रहेको बताउनुभयो ।

उहाँले भन्नुभयोे, “सङ्घीयता कार्यान्वयनसँगै सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यमा सुरक्षासंयन्त्र परिचालन गरिए अपराधिक घटना न्यूनीकरण गर्न सकिन्छ ।” मुख्यमन्त्री राउतले सरकारको पहिलो दायित्व नै शान्ति सुरक्षा रहेकाले यसका लागि आ–आफ्नो ठाउँबाट सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।

गृहमन्त्रालय र प्रदेश नं २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा शुक्रबारदेखि चलिरहेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मूलभूत लक्ष्यप्राप्ति र विद्यमान समस्या समाधानका लागि सुरक्षा निकायबीच साझा अवधारणा विकास गर्ने उद्देश्यकासाथ गोष्ठी सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले सबै सुरक्षा निकायका अधिकारीले आपसमा समस्या र राष्ट्रिय सङ्कल्पलाई बुझेर अगाडि बढ्न गोष्ठी सफल हुने विश्वास गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका पृतनापति नरेशचन्द्र भट्ट तथा गृहमन्त्रीका सुरक्षा सल्लाहकार ईन्द्रजीत राईलगायतको सहभागिता थियो ।

गोष्ठीमा प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, नेपाली सेनाका अधिकारी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको पनि सहभागिता रहेको छ ।


११ आश्विन २०७६, शनिबार १३:५० मा प्रकाशित