लाचार आईजीपी, बदनाम नेपाल प्रहरी 

दूरबिन नेपाल     १६ आश्विन २०७६, बिहीबार १२:१८    

बद्रि गौतम, दूरबिन – नेपाल 

न्युयोर्क, अक्टोवर ३ ।  इतिहासमा नै सम्भवत : नेपाल प्रहरीले  यति बिग्न बदमानी कमाएको थिएन । त्यसै पनि नेपाल प्रहरी प्रति सर्वसाधरणको धारणा सकारात्मक छैन ।  सर्वेन्द्र खनालले कमाण्ड लिए पछि प्रहरीमा सुधार आउने अपेक्षा थियो । तर भइदियो उल्टो ।   एक पछि अर्को प्रकरणमा प्रहरी असफल भन्दै गएको छ । झन् झन् बदनामी कमाएको छ । प्रहरी माथिको विश्वास र भरोसा एक पछि अर्को गर्दै गुम्दै गएको छ ।

कन्चनपुरकी बालिकाको बलात्कार पछि हत्या प्रकरणमा नराम्रो सँग चिप्लिएको नेपाल प्रहरी निवर्तमान सभामुख कृष्ण बहादुर महरामाथि लागेको बलात्कार र कुटपिट आरोपको घटना पछि कठै भन्ने स्थितिमा पुगेको छ । यो हाइ प्रोफाइलको  बलात्कार  काण्डमा सबैभन्दा धेरै कोही निरीह र लाचार बनिरहेको छ भने त्यो हो नेपाल प्रहरी । यो घटनामा त लाग्छ की नेपालमा प्रहरी नै छैन । प्रहरीको उपस्थिति नै  कहि कतैपनि देखिंदैन । उपस्थिति  यस अर्थमा कि हाइप्रोफाइलको मुद्धामा प्रहरीले के गर्ने वा नगर्ने भन्ने भेउ नै पाएको दखिंदैन । अन्तर्राष्ट्रिय सन्चार माध्यमले समेत प्रमुखता दिएको यति ठूलो घटनामा  नेपाल प्रहरी  चुकेको छ । हुन त निर्मला पन्तको हत्या, रवि लामिछाने र ज्ञानेन्द्र शाहीका प्रकरणमापनि निकम्मा सावित भइसकेको हो । अपराधी सामुन्ने छ तर उसलाई कानुनी कारवाहीका लागि के गर्ने भनेर राजनैतिक नेतृत्व सामु चाकरी टक्रयाइ रहेको देखिन्छ ।

निवर्तमान सभामुख सँग जोडिएको घटनालाई  यति हल्का रुपमा लियो कि यतिबेला पनि प्रहरी अन्यौलमै देखिन्छ । यति शर्मनाक घटना भएको छ । शर्मनाक यस अर्थमा कि सभामुख जस्तो व्यक्तिमाथी त्यस्तो गम्भिर आरोप लागेको छ । आरोप प्रमाणित होला नहोला । तर सभामुख जस्तो व्यक्तिलाई आरोप लगाइएको हो भने पनि त्यो गम्भिर आरोप हो ।

समयमै पाएको सुचनाको आधारमा घटना स्थल पुगेर पनि प्रहरीले यो प्रकरणलाई सामान्य रुपमा लिएको देखिन्छ । एउटा महिलाले रातको समयमा म बलात्कारमा परे भनेर गरिएको याचनालाई प्रहरीले पुरै लत्याएको देखिन्छ । प्रहरीको पहिलो काम घटना स्थल र पीडितको सुरक्षा गर्दै अपराधिको खोजि गर्नु हो । तर त्यस तर्फ प्रहरीले होस नै पुर्याएन ।

अपराध पीडित संरक्षण ऐन २०७५ ले पनि पीडितलाई राज्यले नै संरक्षण दिनुपर्ने व्यवस्था गरेको छ । उक्त ऐनको दफा १० मा पीडितलाई अभियुक्त, कसुरदारबाट पीडित वा पीडितमा आश्रित व्यक्तिविरुद्ध हुन सक्ने आक्रमण, क्षति, डर, त्रास, धम्कीबाट सुरक्षित हुन पाउने अधिकारको व्याख्या गरिएको छ ।

प्रहरीले घटनास्थल तत्काल शिल गरेर पीडित महिलाको स्वास्थ परिक्षण र सुरक्षाको व्यवस्था मिलाउनु पर्ने थियो । समयमै पुगेको प्रहरीले आफ्नो पहिलो प्राथमिकता पुरा गरेको भए, पीडित महिलाले बयान नै फेर्नु पर्ने स्थिति नआउन सक्थो । जनताको सुरक्षाको जिम्मा लिएको प्रहरीले हेलचक्रयाइ गर्दा घटना नयाँ रुपमा विकास भयो । राज्यबाट पनि ती महिलाले  सुरक्षाको प्रत्याभूति पाइनन ।

प्रहरीको हटलाइनमा आफुमाथी बलात्कार भएकोले न्याय पाँउ भन्दै फोन आउछ । प्रहरी महिलाकोमा पुग्छ तर बलात्कारीको नाम सुनेपछि झस्किएर फर्कन्छ । अन्य व्यक्ति जोडिएको घटनामा प्रहरीले के गर्दथ्यो ? सबै तस्विरहरु लिन्थ्यो, मुचुल्का उठाउथ्यो , पीडितको स्वास्थ्य जाँच गर्दथ्यो । अनि पिडकलाई तत्काल पक्रन आदेश दिन्थ्यो ?  पक्रन्थ्यो ?

कानुनी राज भएका मुलुकमा अहिलेपनि यहि गर्छ प्रहरीले । तर नेपाल प्रहरीले यसो गर्न सक्ने कुरै भएन । प्रहरी नेतृत्वले फेरी पनि आफुलाई प्रमाणित गर्न सकेन । गुमेको जनविस्वास फर्काउने एउटा अवसर खेर पठायो ।  स्थापनाकाल देखि नै बफादारीता निभाउंदै आएको नेपाल प्रहरीले अहिलेपनि यहि बफादारीता त देखाएको होइन ?

राजा, काँग्रेस, एमाले हुंदै अहिले नेकपाको वफादार सिपाही बनेको आरोप  नेपाल प्रहरी माथि छ  । आरोप लगाउने युवती कहाँ, छिन प्रहरीलाई जानकारी छ ? अघिल्लो दिन सभामुसख जस्तो व्यक्तिलाई घिनालाग्दो आरोप लगाउने अनि भोलिपल्ट डिप्रेसनको रोगी भएकोले आवेशमा जे पायो त्यहि भनेको भन्दै बोली फेर्ने ती महिला कर्मचारीलाई प्रहरीले किन नियन्त्रणमा लिएन ? अहिले ती महिला कहाँ छिन ? को संग छिन ? उनको बोली किन फेरियो ? यसको खोज प्रहरीले गर्नु पर्दैन ?

कानुनी राज भएको भए, नेपाल प्रहरी राजनीतिक दलहरुको क्रिडास्थल नबनेको भए बलात्कृत भएं भन्ने महिलालाई प्रहरीले सुरक्षाको लागि आफ्नो नियन्त्रणमा लिन्थ्यो । हाइ प्रोफाइलका यस्ता काण्डमा सुरक्षा थ्रेट धेरै हुन्छ । तर प्रहरीले किन गर्न सकेन ? प्रहरीले महिलालाई सुरक्षाको ग्यारेण्टि किन गर्न सकेन ? प्रहरी स्वयं लाचार भयो कि षडयन्त्रको शिकार ?

संबिधानले सुरक्षाको लागि प्रहरीलाई विशेशाधिकार दिएको छ । तर प्रहरीले महरा काण्डमा किन घटनास्थललाई सिल गरिएन ? प्रमाणहरु नष्ट गर्ने अवसर किन प्रहरीले दियो ? आरोप लगाउनेले पो षडयन्त्र पुर्वक सभामुख जस्तो व्यक्तिलाई फसाउन यस्तो प्रपञ्च रचेको पो हो कि ? प्रहरी किन यो मामलामा चुक्यो ? नेपाल प्रहरीले बार्गेनिङ त गरिरहेको छैन ?

कृष्ण बहादुर महराले आफु माथी बलातकार र कुटीपीट गरेको जानकारी प्रहरीलाई दिइसकेपछि प्रहरीले मुचुुल्का र प्रमाण सुरक्षित राख्नु पर्छ । तर सभामुखमाथीको आरोप भनेर फकिएको कुरा बाहिर आएको छ । तर कतै प्रहरीले दुवै पक्षसंग बार्गेनिङ त गरिरहेको त छैन भन्ने आशंका पनि जन्मिइरकेकमा छन । प्रहरीका अधिकारीहरु प्रमाण गोप्य राखेर बार्गेनिङमात लागेका छैनन ? भने आशंकालाई बल मिल्ने गतिविधि प्रहरीले देखाएरहेको छ । किनकी नेपाल प्रहरी पहिलेपनि दुधले नुहाएको भने हैन ।


१६ आश्विन २०७६, बिहीबार १२:१८ मा प्रकाशित