’कठै’ महिला अधिकारवादीहरु

बद्री गौतम, दूरबिन-नेपाल     १८ आश्विन २०७६, शनिबार १२:५४    

बद्री गौतम, दूरबिन-नेपाल

 

न्युयोर्क। २६ बर्ष अगाडि बनेको एउटा भारतीय चलचित्र छ ’दामिनी’ सन् १९९३ मा राजकुमार सन्तोषीको निर्देशनमा बनेको सो चलचित्रका दृश्यहरु अहिले फेरि एक पटक मेरा मानशपटलमा छचल्किएका छन् । सो चलचित्रका कथा र अहिले अन्तर्राष्ट्रिय चर्चामा समेत रहेको निवर्तमान सभामुख कृष्णबहादुर महरा जोडिएको यौन दुव्र्यवहार काण्डको कथा लगभग मिल्दो जुल्दो छ ।

 

दामिनी चलचित्र बलात्कार र त्यस पछि उत्पन्न घटनामा केन्द्रित छ । भारतको एउटा घरानीया परिवारमा एक महिला घरेलु कामदारको रुपमा हुन्छिन् । ती महिलालाई त्यस घरका कान्छा छोरा र उनका साथीहरुले सामुहिक बलात्कार गर्छन् । तर बलात्कारको घटनालाई परिवारका प्राय सबै सदस्यले लुकाउन चाहान्छन् । जेठी बुहारी दामिनी भने पीडित महिलाको पक्षमा देखा पर्छिन । त्यस पछि सबै परिवार मिलेर ती दामिनीलाई मानसिक सन्तुलन बिग्रिएको र उनले बोलेको कुरा सत्य नभएको प्रमाणित गर्न लाग्छन् । यति सम्म की दामिनीका पति पनि लाचार हुन्छन् र परिवारको पक्षमा उभिन्छन् ।

सबै मिलेर दामिनीलाई मानसिक विरामी बनाइन्छ । जसका कारण दामिनीको बलात्कारीलाई सजायं दिलाउने चाहानामा अनेक खेलहरु हुन्छन । पैसा देखि पावरसम्म सबै कसरतहरु हुन्छन । तर अन्तिममा जीत भने सत्यकै हुन्छ । दामिनी आफुलेपनि न्याय पाउंछिन भने बलात्कारीलाई सजायंपनि दिलाउन सफल हुन्छिन ।

 

झण्डै तीन दशक अगाडिको तत्कालिन सामाजिक परिवेशलाई समेटर छिमेकी भारतमा बनाइएको सो चलचित्रका कथा अहिले नेपालमा झण्डै झण्डै यथार्थमा परिणत भएको छ । महिला, दलित, जातिय, बर्गिय मुक्तिको नारा लगाएर हजारौ नेपालीलाई सपना देखाउदै दश बर्ष विद्रोह गरेर शान्ति प्रक्रियामा आएको तत्कालिन नेकपा माओवादीका शक्तिशाली नेता कृष्णबहादुर महरा माथि आफ्नै पार्टीको पूर्व कार्यकर्ता रोशनी शाहिले आफुमाथी बलात्कार गरेको गम्भिर आरोप लगाइन ।

 

नेपालको सम्मानीय पदमा रहेका छ जना मध्येका एक प्रतिनिधि सभाका सभामुख महराले संघीय संसद सचिवालयमा कार्यरत ती महिला रोशनी माथि बलात्कार गरेको घटना २४ घण्टा भित्रै युटर्न भयो । आफुमाथी भएको भनिएको बलात्कार आवेशमा आएर गरिएको आरोपमात्र भएको बयान दिइन रोशनीले । रोशनीले घटना लगतै नेपाल प्रहरी, सत्तारुढ दल नेकपाका महिला नेतृ, संसद सबै तीर ’गुहार’ मागेकी थिइन । तर उनले गुहार त पाइनन नै उल्टो बयान नै फेरिन ।

किन २४ घण्टामा घटनालाई यु टर्न गराइयो ?

ती महिलाले शुरुवाती रुपमा जे जे बयान दिइन र उनको बयान सत्य हो भन्ने जुन जुन प्रमाणहरु भेटिदै थिए, तिनलाइ आधार मान्ने हो भनेपनि नेपालको कानुन अनुसार महरामाथी अनुसन्धान गर्नुपर्ने हुन्छ । तर प्रहरीले महरामाथी नै अनुसन्धान गरेको छैन । जुनशक्तिको बलमा महरा यो उचाइमा पुगेका हुन उनले त्यसको यस पटक पनि भरपुर सदुपयोग गरे । त्यो स्वाभाविक नै हो । कृष्णबहादुर महरा २०४७ सालको परिवर्तन पछि राजनीतिमा छलाङ्ग मार्ने मध्येका एक हुन् । उनी जिल्ला स्तरको नेता हुदाँ केन्द्रिय नेता रहेकाहरु जहाँको त्यही छन् । तर उनी अब लगभग पार्टी नेतृत्व लिने होडमा पुगेका ब्यक्ति हुन् । यदि यहि घटनाले महरा जेलयात्रा तर्फ लाग्दै गर्दा दुई ठूला कम्युनिष्ट पार्टीको एकिकरण प्रक्रिया र वर्तमान दुई तीहाइ सरकारको जग हल्लन सक्छ । त्यसकारण पनि रोशनी शाहीलाई बयान फेर्न बाध्य बनाइयो कि ?

 

कठै महिला अधिकारकर्मीः कहिलेसम्मको मौनता ?

 

तर अचम्म लाग्दो कुरा, नेपालमा क्रियाशिल ’महिला अधिकारवादी’ हरुले जुन रुपमा यो घटनामा प्रतिक्रिया दिएका छन् त्यो सबै भन्दा ठूलो हैरानी हो । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैमा महिला संसदको सख्या एक तीहाइ छ । यस्तै हजारौको सख्यामा महिला अधिकारको ’दुकान’ चलाएका संघ सस्था छन् । ती मध्ये धेरै यो बलात्कार काण्डमा मौन छन् । जतिले प्रतिक्रया दिएका छन् उनीहरु मध्ये प्रायले महिलालाई दोषि देखाएका छन् ।

 

सामाजिक सन्जालमा सक्रिय आफुलाई बौद्धिक र पढेलेखेको दावी गर्ने महिलाहरुले ’घरमा लोग्ने हुदाँ हुदै, अर्को पुरुष सँग लामो समय देखि सल्कने महिला नै उस्तो हो ।’ ’भर नभएकी’ ’बोलीको टुङ्गो नभएकी’ ’पहिला देखि नै सम्वन्ध रहेछ अहिले के मा कुरा मिलेन अनि कुरा बाहिर ल्याइ’ यो भर नभएकी महिलाले सभामुखको इज्यत फालि भन्ने खालका प्रतिक्रिया दिएका छन् । पीडित भनिएकी महिला रोशनी शाहीमाथी महिला अधिकारको क्षेत्रमा काम गरिरहेका केही महिला अधिकारकर्मीहरुको टीप्पणीले सच्चा अधिकारकर्मीको शिर निहुरिन्छ ।

 

हो बिवाहित महिलाले श्रीमानको आँखा छलेर परपुरुष सँग सम्पर्क राख्नुलाई कदापी सहि भन्न सकिंदैन । तर घरमा श्रीमती हुदाँ हुदै अन्य महिलासँग लसपसीने पुरुषलाई चाही सहि मान्नुपर्ने हो ? घरमा श्रीमती, हुर्किएका छोराहरु भएको, सभामुख जस्तो ब्यक्ति,  एक्लै भएको विवाहित महिलाको कोठामा साँझको समयमा जानुलाई के भन्ने ? पूरुषवादी सोच र चिन्तनले ग्रसित हाम्रो समाज महिलालाई सुबै दोष थोपरेर भिआइपीलाई बचाउने प्रपञ्चमा लागिरह्यो भने यसले कस्तो दिशा लेला ?

 

महराका छोराहरु युद्दकालिन फोटो राखेर धम्कीपूर्ण रुपमा सामाजिक सन्जालमा नै आए भने ती महिला माथि भित्र भित्र कति दवाव दिए होलान । शक्ति र पदको आडमा बर्षौ देखि यौन दुर्वयहारको सिकार हुदै आएकी महिलाले जसरी घटना सार्वजनीक गरिन् त्यसको सत्यतथ्य छानविन गरि दोषिलाई कारवाहीको दायरामा ल्याउन माग गर्नु पर्नेमा ती महिला नै उस्तै हुन भन्ने माननीय महिला संसद, महिला अधिकारको नाममा दुकान चलाएका अधिकार वादीलाई ’कठै’ भन्नु बाहेक अरु के विकल्प होला र ?


१८ आश्विन २०७६, शनिबार १२:५४ मा प्रकाशित