अमेरिकामा नेपालीले खोले बैक, न्युयोर्कमा शुरू भयो कारोबार

दूरबिन नेपाल     १९ आश्विन २०७६, आईतवार ०२:०३    

न्यूयोर्क । अमेरिकामा नेपालीहरुले प्रवर्धन गरेको पहिलो सामुदायिक बैंक एभरेष्ट क्रेडिट युनियनको शनिबार (अक्टुबर ५ तारिख) औपचारिक उद्घाटन भएको छ । न्यूयोर्क ज्याक्सन हाइट्स स्थित ७४–१८ ३७ रोडमा रहेको युनियनको मुख्यालयमा आयोजित एक समारोहमा फूलपातिको अवसर पारेर संस्थाको औपचारिक उद्घाटन गरिएको हो ।

 

क्रेडिट युनियनका अध्यक्ष डिल्ली भट्ट, शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पा र गैर आवासीय नेपाली संघ अमेरिकाका पूर्व उपाध्यक्ष श्री पराजुलीले रिबन काटेर संस्थाको औपचारिक शुभारम्भ गरेका थिए । कार्यक्रममा बिभिन्न नेपाली संघ संस्थाका पदाधिकारी, प्रतिनिधी एवं सर्वसाधारणको बाक्लो उपस्थिती थियो ।

 

संस्थाका व्यवस्थापक सुदर्शन कडरियाले ‘विक डे’ मा दैनिक विहान साढे ९ बजे देखि साँझ ५ बजेसम्म सेवा दिने जानकारी दिए । साथै छिटै एटिएम सेवा सुरु गरि २४ सै घण्टा सेवा उपलब्ध गराउने उनले बताए । संस्थामा ५० डलरले खाता खोल्न सकिने जनाइएको छ । त्यसमध्ये आधा रकम संस्थाको सदस्यता शुल्क एवं आधा खाता ‘मेन्टेन’ शुल्कको रुपमा रहनेछ ।

 

अध्यक्ष डिल्ली भट्टले संस्थाले अब नेपालीको बाक्लो उपस्थिती भएका टेक्सास, क्यालिफोर्निया, भर्जिनिया, मेरिल्याण्ड, मासाचुसेट्स लगायत राज्यहरुमा शाखा विस्तारलाई तीब्रता दिने बताए । एक बर्ष भित्र एक हजार सदस्यता विस्तार गरिसक्ने उद्देश्य लिएको उनले जानकारी दिए । यस्तै संस्थाले तीन बर्ष भित्र पाँच हजार सदस्य संख्या पुर्याउने लक्ष लिएको छ ।

 

संस्थामा बालबालिका बचत लगायतका भविश्यमुखि कार्यक्रमहरु पनि रहेको अध्यक्ष भट्टले जानकारी दिए । ‘कतिपयमा संस्थाले गरेको प्रगतिको लाभ प्रवर्धकहरीले मात्र लिन्छन् भन्ने बुझाइ रहेको समेत पाइएको छ, उनले भने– तर त्यसो होइन, अहिले आएर लगानी गर्ने हरेक सदस्यले प्रवर्धक बराबरकै सुविधा पाउने प्रष्ट गर्न चाहन्छौँ ।’ प्रतिशत शेयर २५ डलरका दरले संस्थाको शेयरमा लगानी गर्न पाइने उनले जानकारी दिए ।

 

अमेरिकामा सामूदायिक बैंकहरुको संघीय नियामक नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेसन (एनसियुए)ले सन् २०१८ को पहिलो क्रेडिट युनियनको रुपमा गत बर्ष अगष्टमा एभरेष्टलाई लाइसेन्स दिएको थियो । कार्यालयका लागि उपयुक्त स्थान र भवनको खोजी, तयारी लगायतका व्यवस्थापकीय गृहकार्य सम्पन्न गरि संस्थाको औपचारिक उद्घाटन गरिएको हो ।

 

क्रेडिट युनियनहरुले आफ्ना सदस्य एवं शेयरधनीलाई बिभिन्न प्रकारका वित्तिय सुविधा प्रदान गर्छन् । बिभिन्न देशबाट आएका आप्रबासीहरुले आफ्नो जनसंख्या एवं आर्थिक अवस्था सुधार हुँदै जाँदा अमेरिकामा क्रेडिट युनियन सञ्चालनमा ल्याउने गरेका छन् । यसै क्रममा नेपालीहरुले पहिलो क्रेडिट युनियनको रुपमा एभरेष्ट सञ्चालनको अनुमति पाएका हुन् ।

संस्थाले नियमित शेयर बिक्री, शेयर ड्राफ्ट एवं प्रमाणपत्र जारी, बिभिन्न किसिमका कर्जा प्रवाह, मनी अर्डर, क्रेडिट कार्ड जारी, निक्षेप संकलन लगायतका कारोबार सुरु गर्ने अनुमति पाएको छ ।

 

पाँच वर्षभित्रमा कम्तीमा १० शाखा र १० हजार निक्षेपकर्ता पुर्याइ कारोबार २० करोड अमेरिकी डलर नघाउने लक्ष लिएको सञ्चालक समिति डिल्ली भट्टको भनाइ छ । कम्युनिटी बैंकको रुपमा क्रेडिट युनियनहरु गैर नाफा मुलक रहने र यीनले कर छुट समेत पाउने भएका कारण आफुहरुले निक्षेपकर्तालाई धेरै ब्याज र ऋणीलाई सस्तोमा कर्जा प्रवाह गर्ने उनको भनाइ छ ।


१९ आश्विन २०७६, आईतवार ०२:०३ मा प्रकाशित