लवकमा ह्याप्पि दसैँ

दूरबिन नेपाल     २० आश्विन २०७६, सोमबार २१:१०    


दूरबिन नेपाल, अमेरिका, ७ अक्टोबर। ढल्कँदो साँझ । पृष्ठभूमिको मधुर मङ्गल धुन । नेपाली पहिरनमा सजिएका वृद्धादेखि युवा युवतीको लस्करले नेपाल भन्दा हजारौँ माइल टाढा अमेरिकाको सानो सहर लवकमा दशैंले छपक्कै छोपेको छ ।
पाताल प्रवासमा नेपाली राष्ट्र गानबाट आरम्भ भएको लवक नेपाली समाजको दसैँ साँझमा अध्यक्ष डा.प्रकाश श्रेष्ठ भन्दै थिए, चाडले धेरैलाई देश र परिवार सम्झाउँछ तर देशभन्दा टाढा भएकाहरूलाई नेपाली समाजले नेपालीपनको झल्को दिलाउने प्रयास गर्छ । उनले थपे– दसैँ साँझले त्यही नेपाली भावनालाई
एकत्रित गराउँछ ।
आकर्षक नृत्यहरूले मञ्चित दसैँ मञ्चमा कहिले शुभेच्छाको हिजो राती सपनीको नृत्यले उपस्थित युवाहरूलाई चञ्चल बनाइरहेका थिए भने आशा खनालको डाँफे झैँ गायनले हिमाल चिसो सिरेटोमा पुर्याईदिन्थे ।
मञ्च कहिले विन्दियिा र रञ्जनाको राम्री पनि भा को छौ को नृत्यले गुञ्जयमान गराउँथ्यो भने कहिले प्रितिस र प्रतीक्षाको हेरन त नृत्यले मस्त बनाउँथ्यो ।
विद्यार्थी कुशल मूलले दसैँको मङ्गल धुनलाई भाइओलिनको आवाजमा रेट्दा सवैलाई मन्त्रमुग्ध बनाए ।
भर्खरमात्र माया किन लाग्छ बोलको आफ्नो पहिलो गीत रेकर्ड गराएकी लोकश्री आचार्य र आर्यन आचार्यले सन लावर बोलको अङ्ग्रेजी गीत प्रस्तुति देखि  कृतीका, सागरिका, सान्वि र इशु लगायतको त्यसको लहर समापन हुँदासम्म ढल्कँदो साँझ गहिरो रातमा छिप्पिइसकेको थियो ।
पोषा जिटी र रोशन धमलाले सञ्चालन गरेको सेन्टर पोइन्टको सांस्कृतिक साँझमा एकै साँझ भए पनि नेपालीमय सेन्टर वनेको यो औपचारिक कार्यक्रम सञ्चालन भने शिव मूल र बिपना थपलियाले गरेका थिए ।
छिप्पिएको रातसँगै दशैको तालमा झुम्न अझै पसिना बगाउनेहरू कामबाट फर्किरहेका थिए । विद्यार्थीहरू कक्षा सकेर फर्किरहेका थिए ।
लाइभ व्याण्डको साङ्गीतिक झंकार र  डिजेको तालसँगै देशलाई मनमा अनि ज्यानलाई नृत्यमा झुमाउँदै बगिरह्यो सुख्खा लवकमा ह्याप्पि दसैँ ।

२० आश्विन २०७६, सोमबार २१:१० मा प्रकाशित