कराते खेलाडी विमला तामाङ्गलाई अमेरिकामा स्वर्ण पदक 

दूरबिन नेपाल     १८ कार्तिक २०७६, सोमबार ०१:३४    

न्युयोर्क । एशियाली खेलकुदमा कास्य विजेता विमला तामाङ्गले अमेरिकामा सम्पन्न एक कराते प्रतियोगितामा स्वर्ण  पदक जितेकी छिन् । न्युयोर्कमा आइतवार भएको १५ औ ओकिनवान कराते कोबुदो च्याम्पियनसिपमा विमलाले स्वर्ण जितेकी हुन् । चेरीभ्याली एभ्युन्युमा भएको च्याम्पियनिसिपमा विमलाले आइएमए निहान कराते डो न्युयोर्कको तर्फबाट सहभागिता जनाएकी थिइन् ।

 

विमलाले आफ्नो नियमित इभेन्ट कातामा स्वर्ण जितिन । यस्तै उनले कुमितेमा रजत पदक जितिन । उनी ग्राण्ड च्याम्पियनमा पनि छनौट हुदै सफल भइन । ग्राण्ड च्याम्पियन हरेक इभेन्टमा स्वर्ण जित्नेहरु बीचमा पुन प्रतिस्पर्धा हुने इभेन्ट हो । यसमा पनि विमलाले स्वर्ण जित्दै ६ फिट अग्लो ट्रफि पाइन  ।

 

 

 

आइएमए निहानबाट च्याम्पियनसिपमा आठ खेलाडीले सहभागिता जनाएका थिए । उनीहरुले  पाँच स्वर्ण, तीन रजत र तीन कास्य पदक जिते । शमिर थोकरको प्रशिक्षणमा उत्रिएको आइएमए निहान टिमकी ब्रिट्नी एस्टिम्बेले गर्ल्स ८-9 बर्ष उमेर समुहमा काता तथा कुमुते दुबै तर्फ स्वर्ण जितिन् । यस्तै टिफानी इलजोर्डनले गर्ल्स १२-१३ बर्ष उमेर समुहमा कातामा स्वर्ण तथा कुमुतेमा रजत पदक जितिन् ।

बरिन इलजोर्डनले व्वाइज ६-७ उमेर समुहमा काता तर्फ स्वर्ण पदक जिते । गर्ल्स तर्फको सोही उमेर समुहमा इभेन्डेर सेन्टीइनोले कातामा रजत पदक जिते ।  यस्तै कोहिनुर श्रेष्ठले गर्ल्स १०-११ उमेर समुहमा कातामा रजत र कुमुतेमा काश्य पदक जितिन् । व्वाइज १२-१३ बर्ष उमेर समुहमा इसहान क्षेत्रीले काता र कुमुते दुबै तर्फ काश्य पदक पाए । च्याम्पियनसिपमा तीन सय भन्दा बढी खेलाडीले भाग लिएका थिए ।


१८ कार्तिक २०७६, सोमबार ०१:३४ मा प्रकाशित