मेक्सिकोमा नौ अमेरिकी नागरिकको गोली हानी हत्या आक्रमण लागु औषध कारोबारीले गरेको आशंका

दूरबिन नेपाल     २० कार्तिक २०७६, बुधबार ०२:४४    

दूरबिन नेपाल
मेक्सिकोमा लागु औषध कारोवारीले नौ जनाको हत्या गरेको छ । आक्रमणकारीको बारेमा बिस्तृत जानकारी नभएपनि मृत्यु हुनेमा तीन महिला तथा चार बच्चा सहित अन्य दुई जनापनि रहेको बताइएको छ । यसबारे अझै खुल्न बांकी रहेको मेक्सिकोका अधिकारीहरुले जनाएका छन । मृतकको संख्याका बारे अझै प्रष्ट हुन सकिरहेको छैन । मृतकका आफन्तहरुले दश जनाको मृत्यु भएको दावी गरिरहेका छन भने मेक्सिकोका अधिकारीहरुले नौ जनाको हत्या भएको पुष्टि गरेका छन भने अन्य ६ जना घाइते भएको बताइएका छन । मृतकहरुमा ३३ बर्षीया रोनिटा मिलर उनका ८ र दश बर्षका बच्चा अनि चार महिनाका जुम्ल्याहा बालक र बालिकापनि रहेको बताइएको छ । आक्रमण सोमबार मेक्सिकोको चिउआहुवा राज्यमा भएको थियो जुन अमेरिकाको एरीजोना राज्यबाट ७० माइल टाढा पर्छ । मृतकहरु कुनै विवाह समारोहमा सामेल हुन जांदै थिए । मृतक मध्येकी एक महिलाले गाडी चलाइरहेकी थिइन भनेबच्चा सहित अन्य गाडी भित्रै रहेको बेला गाडीमाथी नै गोली बर्षाइएको थियो । मृत्यु हुनेहरु लाबोरा समुदायका व्यक्तिहरु रहेको बताइएको छ । सो समुदायलाई मेक्सिकोमा लागु औषध कारोवारी विरोधी अभियन्ताको रुपमा पनि लिने गरिन्छ । लागु औषध कारोबार विरुद्ध आवाज उठाउने क्रममा लाबोरा समुदायका अगुवा बेन्जामिन लाबोलाई सन २००९ मा कारोबारीहरुले हत्या गरेका थिए । मृतकहरुसंग अमेरिका र मेक्सिकोको दोहोरो नागरिकता भएको बताइएको छ । उनीहरु अमेरिकाको एरिजोनामा बसोबास गर्ने गरेको उनीहरुका आफन्तले जनाएका छन । घटनाबारे अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गर्दै लागु औषध कारोबारी विरुद्धको लडाइमा मेक्सिकोलाई जुनसुकै सहयोग गर्न तयार रहेको बताएका छन ।


२० कार्तिक २०७६, बुधबार ०२:४४ मा प्रकाशित