नेपाली कांग्रेससँग संवद्धहरु अमेरिकामा ताते

दूरबिन नेपाल     २१ कार्तिक २०७६, बिहीबार ०८:४१    

अमेरिका । 

नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जन सम्पर्क समिति अमेरिकाका पदाधिकारी र सदस्यहरूले आपसी परामर्श, छलफल र भेटघाटलाई बाक्लो बनाउदै लगेका छन् । ठूला चाड पर्व दशैं, तिहार, नेपाल सम्वत् तथा छठ पर्वको बिदाइको मौका छोपेर न्यु योर्कको रिजउडमा नेपाली जनसंपर्क समितिसँग नजिक रहेकाहरू भेला भएर पर्बहरूको मैजारो गरेका छन् ।
नेपाली जन सम्पर्कले मङ्गलवारको पर्व बिसर्जनको तातो चियापानलाई कतिपयले लामोसमय देखि रोकिएको अधिवेशनको शुभारम्भको रुपमा बुझेका छन् ।  ३ हजार भन्दा बढि नेपालीको बसोबास भएको  रिजउडमा नेपाली जनसम्पर्क समितिमा करिव ७ सय नेपालीहरू आवद्ध भइसकेका छन् । आपसी सद्भाव, भाइचारा र सङ्गठनात्मक भावना अभिवृद्धि गर्ने लक्षले हरिनारायण सापकोटा , कृष्ण बिष्ट , रबि कोइराला , नारायण तिमल्सिना , उद्दव शास्त्री र वेद प्रसाद खरेलको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । 


कार्यक्रममा नेपाली काग्रेसका आमन्त्रित केन्दीय सदस्य एवं नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले प्रमुख अतिथिको रुपमा बोल्दै पार्टीको निर्देशन बमोजिम संस्थाका बाकी कामहरू अगाडि बढाउने बताए । कार्यक्रमको सभापतित्व गरिरहेका कृष्ण बिष्टले प्रजातान्त्रिक पार्टीका भातृ र भगिनी संगठनले आम सदस्यको विश्वास र आस्थालाई जीवन्त बनाइ राख्न समयमानै अधिवेशन गर्न सुझाव दिए । संगठन विभाग प्रमुख वेद खरेलले विसम परिस्थिति र वाध्यताले विदेशिएका पार्टीसम्वद्ध सबै जनाले आवश्यकतालाई बुझेर फुटेर भन्दा जुटेर लक्ष हासिल गर्ने मार्गमा हिँड्नु पर्ने बताए । सबैलाई समेटर जाने र लानेलाई पहिचान गरि संस्थाको जिम्मेवारी सुम्पनु पर्ने खरेलको भनाई थियो । खरेल आगामी अधिवेशनमा अध्यक्षका दाबेदार समेत हुन् ।  


अध्यक्षको दाबेदारकै रुपमा हेरिएका नेपाली जनसम्पर्क समितिका पूर्व संयोजक बिष्णु सुबेदी , जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनीन्द्र नेम्वाङ र सचिव भोजराज ठोकरले शुभ कामना मन्तव्य दिएका थिए ।  नेपाली जनसम्पर्क समिति अमेरिका निर्वाचनको प्रक्रियामा रहेको बेला सङ्गठन विभाग प्रमुख खरेलको कर्मभूमि रिजउडमा आयोजित कार्यक्रमलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

 


२१ कार्तिक २०७६, बिहीबार ०८:४१ मा प्रकाशित