जनसम्पर्क समिति अमेरिका : च्याप्टर अधिवेशन कम्तिमा एक महिना सर्ने 

बिष्णुहरि घिमिरे\दूरबिन नेपाल     २१ कार्तिक २०७६, बिहीबार १४:२१    

बिष्णुहरि घिमिरे\दूरबिन नेपाल

 

अमेरिका, नोभेम्बर ७ । नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन प्रक्रिया कम्तिमा एक महिना सर्ने भएको छ । माउ पार्टी नेपाली काँग्रेसले अधिवेशन गर्न बाँकी रहेका भातृ सस्थाहरुलाई ६ महिनाको अवधिमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिए अनुसार यस अघि समितिले च्याप्टर अधिवेशन डिसेम्वर सम्ममा सम्पन्न गर्ने निर्णय गरेको थियो । तर नोभेम्वर पहिलो साता सकिदा सम्म च्याप्टर अधिवेशनका लागि कुनै प्रक्रिया शुरु भएको छैन ।

समितिका सभापति आनन्द विष्टले दूरबिन नेपाल सँगको कुराकानीमा अब च्याप्टर अधिवेशनको डेटलाइन एक महिना पर सर्ने बताए । ‘दशै- तिहार जस्ता ठूला चाड पर्व र गैरआवासीय नेपाली संघ एनआरएनएको विश्व सम्मेलनका कारण पूर्व घोषित डिसेम्वरको डेट लाइनमा च्याप्टर अधिवेशन गर्न गाह्रो छ, अब छिट्टै नै कार्य समिति बैठक बसेर जनवरी सम्ममा निर्वाचन सक्ने गरि नयाँ मिति घोषणा गर्दछौं ।’

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य समेत रहेका आनन्द विष्ट नेतृत्वमा रहेको समितिको कार्यकाल सन् २०१७ मा नै सकिएको हो । सन् २०१४ नोभेम्वरमा  टेक्सासमा भएको अधिवेशनबाट विष्ट अध्यक्षमा निर्वाचित भएका थिए । विधानत समितिको कार्यकाल तीन बर्षको रहन्छ । विष्टलाई अधिवेशन छल्न खोजेको आरोप लाग्दै आएको छ । तर उनले सो आरोप बाराम्वार अस्वीकार गर्दै आएका छन् । ‘बाहिर के आरोप र के हल्ला चल्छ त्यस तर्फ म जान्न, पार्टिले कार्तिक ५ गतेको मितिमा हामीलाई अधिवेशन तयारी समिति भन्दै पत्र दिएको छ, अब हामी पार्टीले दिएको डेटलाइन अप्रिल सम्ममा अधिवेशन सम्पन्न गराउछौ ।’ जनसम्पर्क समिति अमेरिका अन्तर्गत २७ च्याप्टर रहेका छन् ।

सदस्यता वितरणमा अन्यौल यथावत 

सभापति विष्टले अधिवेशन प्रक्रिया शुरु गर्ने भने पनि सदस्यता वितरणको अन्यौलता भने यथावत नै रहेको छ । पार्टीको महासमितिको पछिल्लो बैठकद्वारा संसोधित विधानमा जनसम्पर्क समितिको सदस्य हुनका लागि नेपाली राहदानी र नागरिकता अनिवार्य गरेको छ । तर सभापति विष्ट च्याप्टर अधिवेशनमा नै पार्टीको संसोधित विधानले असर नपार्ने जिकिर गर्दछन् । ‘हामी अमेरिकी कानुन अनुसार ५-१ सी अन्तर्गत दर्ता भएका संस्था हो , त्यस कारण साधरण सदस्यता वितरण हाम्रै विधान अनुसार हुन्छ तर क्रियाशिल सदस्य,  महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यका लागि भने हामी पार्टीको विधान अनुसार नै चल्नुको विकल्प छैन ।’

काँग्रेसको संसोधित विधानको असर अमेरिका मात्र नभएर विश्वभरी रहेका जनसम्पर्क समितिमा देखिने निश्चित छ । हाल सम्म ३५ देशमा जनसम्पर्क समिति क्रियाशिल रहेका छन् । नेपालको संविधानले राजनैतिक अधिकार नेपाली नागरिकलाई मात्र दिएको छ । संविधान अनुसार काँग्रेसले आफ्नो विधान संसोधन गर्दा नेपाली नागरिकता र राहदानी अनिवार्य गरेको हो । विष्टका अनुसार जनसम्पर्क समितिका सभापति निर्वाचित व्यक्तिले पनि काँग्रेस क्रियाशिल सदस्यता नपाउन सक्छ । ‘हामी नेपालको संविधान, पार्टीको विधान भन्दा बाहिर जान सक्दैनौ, साधरण सदस्यको लागि हामीले हाम्रो विधान माने पनि नेपाल जाने प्रतिनिधिका लागि नेपालकै कानुन र विधान मान्नु पर्ने हुन्छ, यस्तोमा नेपाली नागरिकता त्यागेका व्यक्ति जनसम्पर्क समितिको सभापति निर्वाचित भए भने उनीहरु पर्वेक्षकको रुपमा मात्र पार्टीको महाधिवेशनमा जान सक्छन् ।’

 

सदस्यताका केही विषयमा अन्यौल भएको र त्यसका लागि पार्टी सँग छलफल भइरहेको विष्टको भनाइ छ । ‘ यो अमेरिकाको मात्र समस्या होइन, विश्व भरी रहेका जनसम्पर्कका साथिहरुले यो बारेमा पार्टीले छिटो ब्याख्या गरिदियोस भनेका छन् ।’

१४ ‌औं महाधिवेशन अगाडि  जनसम्पर्कको अधिवेशन हुन्छ ? 

पटक पटक सर्दै आएको जनसम्पर्क समिति अमेरिकाको अधिवेशन नेपाली काँग्रेसको १४ औं महाधिवेशन अगाडि सम्पन्न नै हुन्छ भन्नेमा पनि श‌का रहदै आएको छ । काँग्रेस महाधिवेशनमा अमेरिकाबाट ७ जना प्रतिनिधिले भाग लिन पाउछन् । सोही सात भोटको कारण पनि जनसम्पर्क समिति अमेरिकाको अधिवेशन प्रभावित हुदै आएको हो । स्रोतका अनुसार संस्थापन पक्षले अहिले सम्म  अध्यक्षका लागि आफ्नो पक्षमा विश्वासिलो व्यक्ति पाएको छैन् । विधानत विष्टले सभापति पद दोहोर्याउन मिल्दैन । विष्ट पार्टी सभापति शेरबहादुर देउवा निकट हुन । अहिले सम्म सभापतिका आकाक्षिमा पूर्व संयोजक बिष्णु सुवेदी, संगठन विभाग प्रमुख वेद खरेल देखिएका छन् । यस्तै  बरिष्ठ उपाध्यक्ष धनन्जय नरसिंह केसी, उपाध्यक्ष धर्म श्रेष्ठ, केशव बराल  र महासचिव मुनिन्द्र नेम्बाङ पनि पर्ख र हेरको स्थितिमा छन् ।

सभापतिमा आका‌ंक्षि यी सबै अहिले सम्मको समिकरणमा देउवा नजिकका होइनन् । यही कारण बुढानिलकण्ठ हच्किएको बताइएको छ । सभापति विष्ट र वेद खरेल जनसम्पर्क समितिको राजनीतिमा लामो  समय देखि एउटै कित्तामा थिए । बीचमा यी दुईको सम्वन्ध पानी बाराबार सम्म पुगेको थियो । तर पछिल्लो समय उनीहरुले सम्वन्धमा सुधार ल्याएको देखाएका छन् । यद्यपी खरेललाई बुढानिलकण्ठले स्वीकार गर्ने सम्भावना न्युन छ । नेपालको राजनीतिमा खरेल रामचन्द्र पौडेल नजिक देखिदै आएका छन् । सभापति आफ्नो अनुकुलको नहुदा सात भोटमा जोखिम हुॅदा सक्ने हुदा अहिलेको समितिलाई नै जेनतेन १४ औं महाधिवेशन सम्म तन्काउने रणनितिमा सस्थापन पक्ष देखिएको आरोप अर्को पक्षले लगाएको छ ।

तर सभापति विष्ट त्यो आरोप अस्वीकार गर्छन् । ‘ बाहिर के आइरहेको छ भन्ने कुरै होइन, हाइपोथेटिकल कुरा गरेर भएन्,तपाईले म सँग जे कुरा सोध्नु भएको हो त्यसको उत्तर म दिन्छु, बाहिर कस्ले के भनेको छ त्यसको उत्तर म कसरी दिन सक्छु ?’ उनी पार्टीले तोकेको समयमा नै अधिवेशन गराउने दावी गर्छन् ।

 

म कुनै उमेदवार बोक्दिन 

 

सभापति विष्टले जनसम्पर्क समितिको अधिवेशनमा आफु कुनै उमेदवारको पक्षमा नदेखिने बताएका छन् । उनले आफ्नो जिम्मेवारीका कारण पनि त्यस्तो गर्न नमिल्ने दावी गरे । ‘ म आमन्त्रित केन्द्रिय सदस्य भैसकेको मान्छे, अधिवेशन गराउने जिम्मेवारी पाएको मान्छे कुनै उमेदवारको पक्षमा देखिदा राम्रो सन्देश दिदैन, स्वार्थ बाझिन सक्छ।’

 


२१ कार्तिक २०७६, बिहीबार १४:२१ मा प्रकाशित