तेह्रौँ सागलाई ऐतिहासिक बनाइने, साग खेलको टिकट अनलाइनबाटै

दूरबिन नेपाल     १२ मंसिर २०७६, बिहीबार १३:२४    

काठमाडौँ, १२ मङ्सिर

सरकारले १३औँ दक्षिण एशियाली क्षेत्रीय खेलकूद प्रतियोगिता (साग)लाई ऐतिहासिक, भव्य र सभ्य बनाउन कुनै कसर बाँकी नराख्ने अठोट व्यक्त गरेको छ । काठमाडाँै, पोखरा र जनकपुरमा मङ्सिर १५ देखि २४ गतेसम्म हुने उक्त प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबार दशरथ रङ्गशालामा एक विशेष समारोहबीच उद्घाटन गर्नुहुनेछ । नेपालको इज्जत, प्रतिष्ठा र खेलक्षेत्रको गौरवमाथि उठाउने हिसाबले प्रतियोगितालाई ऐतिहासिक, भव्य र सभ्य तुल्याउन कुनै कसर बाँकी नराख्ने युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

करीब सवा तीन घण्टाको उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाडीको मार्च पासका अतिरिक्त नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने छ । उद्घाटन समारोहमा १५ हजार भन्दा बढी दर्शकको सहभागिता रहनेछ । प्रतियोगितामा भाग लिन भारत, बङ्गलादेश, पाकिस्तान, माल्द्भ्सि, भूटान, श्रीलङ्काका करीब पाँच हजार सङ्ख्यामा खेलाडी, प्रशिक्षक र अफिसियल कर्मचारी आउने क्रम शुरु भइसकेको छ । उनीहरुको बसोवासका लागि राजधानीमा मात्रै सय को सङ्ख्यामा होटल बुकिङ भइसकेको तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले जानकारी दिनुभयो ।

सागलाई सफल तुल्याउन करीब २० हजार सुरक्षाकर्मी खट्नेछन् भने ५०० स्वयंसेवकलाई प्रशिक्षण दिइसकेको राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ । सन् १९८४ मा स्थापना भएको सागको १३औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुई वटा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ । प्रतियोगिता भव्यरुपमा आयोजना गर्न दशरथ रङ्गशलाको पुन ः निर्माण काम पूरा भएको छ । पोखराको रङ्गशालाको काम पनि अन्तिमरुपमा पुगेको छ । प्रतियोगितामा समावेश २६ खेलमध्ये महिला फुटवल, ब्याड्मिन्टन, आर्चरी, भारत्तोलन, बिच भलिबल, ट्रायथलन, हैण्डबल पोखरामा हुने छ । ऐतिहासिक नगरी जनकपुरमा भने कुस्ती हुने छ ।

नेपालले प्रतियोगितामा भाग लिने १९ विधाका खेलाडीलाई विदेशमा प्रशिक्षणमा पठाएको थियो भने सात खेल विधाका प्रशिक्षकलाई नेपालमा बोलाएर खेलाडीलाई प्रशिक्षित तुल्याइएको परिषद्का सदस्य सचिव रमेश सिलवालले बताउनुभयो । देशभर साग सम्बन्धी प्रतियोगिताको प्रचारप्रसार र खेलकूदको माहोल बनाउने क्रममा मुलुकका सातै प्रदेशमा यसअघि नै १३आँै सागको ओलम्पिक टर्च पु¥याइसकिएको छ ।

कीर्तिमानी खेलाडी बैकुण्ठ मानन्धर, दीपक विष्ट, राजेन्द्र भण्डारी, सीता राई, सङ्गीना वैद्य, नयना शाक्य, जीतबहादुर केसी, सविता राजभण्डारी, विधान लामालगायतका खेलाडीले खेलकूदको माध्यमबाट नेपाल र नेपालीको प्रतिष्ठा र गौरव बढाउन महत्वपूर्ण योगदान दिनुभएको छ । प्रतियोगिता अन्तर्गत भलिबल प्रतियोगिता भने बुधबारबाट शुरुआत भइसकेको छ । यस प्रतियोगितामा सातै देशका खेलाडीले भाग लिएको एउटै विधा भनेको ब्याड्मिन्टन हो ।

सरकारले प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने खेलाडीलाई प्रदान गर्दै आएको पुरस्कार राशिमा उल्लेख्य वृद्धि गर्ने यसअघि नै घोषणा गरिसकेको छ । १३आँै सागका लागि ३१७ स्वर्ण पदक, सोही सङ्ख्यामा रजत सोही सङ्ख्यामा रजत र ४८१ वटा कास्य पदक कायम गरिएको छ । प्रतियोगिता अन्तर्गत सबैभन्दा बढी प्रतिस्पर्धा पौडी विधामा ३८ वटा स्वर्ण पदक प्रदान गरिने छ । प्रतियोगितामा ५९४ खेलाडीसहित ७८० जनाको नेपाली टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट हुने छ । दक्षिण एशियाली मुलुकसहित विश्वका १५ भन्दाबढी मुलुकबाट प्रत्यक्ष प्रसारण हेर्न सकिने व्यवस्था मिलाइएको बताइएको छ ।

नेपालमा आयोजना भइरहेको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को टिकट अनलाइनबाट सहजै उपलब्ध हुने भएको छ । दुई दशकपछि नेपालमा भइरहेको साग खेलका सबै टिकट अनलाइनबाट बिक्री गर्नका लागि टिकटिङ पार्टनरमा इसेवालाई नियुक्त गरिएको छ । यससँगै राजधानी काठमाडौँमा हुने भलिबल, फुटबल, बास्केटबल र क्रिकेटको टिकट दर्शकले इसेवामार्फत सहजै खरीद गर्न सकिने कम्पनीले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।

रासस


१२ मंसिर २०७६, बिहीबार १३:२४ मा प्रकाशित