एनआरएनए अमेरिकाको अस्तित्व नै संकटमा पर्न सक्छ: गौरि जोशी   अमेरिकाको कानुन र नियमलाई हामीले बिर्सन सक्दैनौं :सुनिल साह

बिष्णुहरि घिमिरे      २२ मंसिर २०७६, आईतवार २१:३९    

 बिष्णुहरि घिमिरे /दूरबिन नेपाल

मेरिल्याण्ड-अमेरिका

अन्तराष्ट्रिय समन्वय परिषद् आइसीसीमा सचिवमा निर्वाचित भएको दुई महिना पछि पनि गौरि जोशी एनसीसीलाई थप स्वायत्त, स्वतन्त्र र अधिकार सम्पन्न बनाउने भन्दा पनि  कज्याएर राख्ने र संपुर्ण अधिकार केन्द्रमा लगेर अधिकार बिहिन नियन्त्रित एनसीसी  बनाउन पक्षपोषण गरिरहेका छन् । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् आइसीसीमा अमेरिका क्षेत्रबाट निर्वाचित भएकाहरुलाई सनिवार एनआरएनए अमेरिकाले जिम्मेवारी वहनमा कुसलता र सफलता लागि शुभकामना दिन आयोजना गरेको कार्यक्रममा सचिव जोशीले एनआरएनए अमेरिका जोखिममा रहेको चेतावनी दिए । शनिवार संघद्वारा मेरिल्याण्डमा आयोजित सम्मान कार्यक्रममा जोशीले सवै सदस्य देशले आइसीसीलाई सदस्यहरूको बिबरण एमएसआई  सिस्टममा राख्न दिएको तर अमेरिकाले नदिन गरेका तर्क युक्ति संगत नभएको बताए ।

जोशीले भने “संघले प्रयोग गर्दै आएको ग्लोबल एडभान्स सिस्टममा  सदस्यताको विवरण राख्न चाहेन । त्यसको उद्देश्य के थियो मलाई थाहा छैन । ७९ देशले बनाउदा अमेरिकाले बनाउन नहुने कुनै कारण छ जस्तो मलाई लाग्दैन । यहाँका केही साथीले डाटा प्रोडक्सन लगायतका कुरा उठाउनु भएको छ । मलाई लाग्छ ती ठोस कारण हुन सक्दैन ।”

आइसीसीले प्रयोग गर्ने एमआईएस सिस्टम  गौरी जोशी र उनका आफन्तहरूको कम्पनीको उत्पादन हो । त्यहाँ भित्र जाने सबै डाटा र विवरण आफ्नो अनुकुल हुने गरि सहजै तलमाथी गर्न उत्पादक र नियन्त्रकलाई गाह्रो हुँदैन । यो बुझेको अघिल्लो आइसीसीको कार्यसमितिले अमेरिकाले सदस्यको विवरण गोपनीयता लगायतका विषय जाहेज रहेको भन्दै जोशीको प्रयासलाई असफल बनाएको थियो । आफ्नो नियन्त्रण र अनुकुलतामा नआएपछि एनसीसी अमेरिकालाई खारेज नै गराउन जोशीले आइसीसीमा प्रतिवेदन पेश गरेका थिए ।

शनिवारको कार्यक्रममा दिएको अभिव्यक्तिले जोशी त्यो ह्यांग ओभरमा नै रहेको प्रष्टै बुझ्न सकिन्थ्यो । जोशीले आइसीसीको सदस्यता सुरक्षा प्रणाली युरोपियन स्तरको र भरपर्दो भएको जिकिर गरे । जोशीले एनआरएनए अमेरिकालाई चेतावनीको भाषामा भने   “अव आउने दिनमा सङ्घले यदि त्यस प्रणाली मार्फत मेम्बरसिप बनाएन भने यसले कसरी अगाडि बढ्ने भन्ने कुराको निक्र्यौलका लागि जटिलता उत्पन्न हुनसक्ने कुराको अवगत गराउन चाहन्छु ।”

आइसीसीको सचिवालयले  एनसीसीहरुलाई नियन्त्रण र अधिकार विहीन बनाउन विधानमा मात्र होइन एमओयू नै बनाएर हस्ताक्षर गराउने रणनीति बनाइरहेको पनि सचिव जोशीले खुलासा गरे । उनले  भने
“आइसीसी र एनसीसी बीच भर्वल एफिलिएशन मात्र भएको छ । अव डकुमेन्ट एक आपसमा साइन गराएर  रिलेशनसिप दह्रो बनाउन कामका लागि सचिवालय लागि परेको छ ।”

जोशीले आफूहरू निर्वाचित भएर आएपछि पहिलाको कार्यसमितिले गरेका कामको छानविन प्रतिवेदन तयार गरिरहेको बताए । जोशीले भने  ” निर्वाचित भएर आएपछि आइसीसीमा विगतमा भएका थुप्रै कार्यक्रमहरू र गतिविधि के कसरी भयो भनेर अडिट गर्ने काम भइरहेको छ । त्यहा थुप्रै आर्थिक कारोवार भएका रहेछन् । आर्थिक नियमावली अनुसर गर्नु पर्ने काम नभएको पाइएको छ । रिपोर्ट आएपछि सार्वजनिक गर्छौ ।”

जवकी यस अघिको कार्यसमितिमा अहिले निर्वाचित अध्यक्ष कुमार पन्त उपाध्यक्ष, उपाध्यक्षमा निर्वाचित भएका बद्री केशी महासचिव जस्तो महत्वपुर्ण जिम्मेवारीमा नै थिए । तर भर्खरै अध्यक्षबाट बाहिरिएका भवन भट्टको टाउकोमा मात्र यसमा दोश थुपार्न यी काम भएको आशंका पनि कतिपयले गरेका छन् ।

उपाध्यक्ष रविना थापा भने आइसीसी भित्रको राजनीति र आइसीसीलाई रसियन मोडलमा नियन्त्रणकारी भुमिकामा उभ्याउने रणनीतिका बारेमा गंभिर भएर बुझेको झल्को कार्यक्रममा दिइनन् । रबिनाले महिला शसक्तिकरण र वाहिर आइरहेका हल्ला र टिका टिप्पणीका बिषयमा मात्र  सतही कुरा गरिन । अर्का उपाध्यक्ष सोनाम लामा भने कार्यक्रममा सहभागि थिएनन् ।

एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साहले आइसीसीमा प्रतिनिधित्व गराउन एनसीसी अमेरिकाले गरेको प्रयासको चर्चा गरे । अमेरिका बुझेका साथीहरुलाई आइसीसीमा पुर्याउन सफल भएका कारण अव एनसीसी अमेरिका र आइसीसी वीचको लडाइ नहुने विस्वास ब्यक्त गरे ।

सदस्यताको विषयमा सचिव गौरी जोशीले उठाएका सवालमा छोटो टिप्पणी गर्दै अध्यक्ष साहले भने “एमआइएसमा किन नजाने गौरि जीले बुझ्नु भएको छ । त्यसमा जान हामीलाई आपत्ति छैन । तर अमेरिकाको कानुन र नियमलाई हामीले बिर्सन सक्दैनौं । अव उपाध्यक्ष रबिना थापा र सोनाम लामाले पनि यो के गरेर मिलाउने भन्ने बुझेर प्रयास गर्नुहुन्छ ।”

कार्यक्रम निक्कै भद्रगोल भएको थियो । महासचिव पशुपति पाण्डे कार्यक्रम सन्चालनका लागि तयारी नै नगरी मन्चमा पुगेका जस्ता देखिन्थे । धेरैजनालाई शुभकामना मन्तब्यका लागि बोलाइएका कारण कार्यक्रम निक्कै लामो र पट्यार लाग्दो भएको थियो ।


२२ मंसिर २०७६, आईतवार २१:३९ मा प्रकाशित