अमेरिका–तालिबान वार्ता पुनः शुरु

दूरबिन नेपाल     २३ मंसिर २०७६, सोमबार ०५:५२    

अमेरिका–तालिबान वार्ता पुनः शुरु

दोहा, २१ मङ्सिर

 – संयुक्त राज्य अमेरिका र अफगानिस्तानको विद्रोही समूह तालिबानबीच कतारको राजधानी दोहामा शुक्रबारदेखि पुनः वार्ता शुरु भएको छ । टोलो न्यूजले एक स्रोतलाई उद्धृत गर्दै दोहामा वार्ता शुरु भएको बताएको छ । स्रोतले अफगानिस्तानमा जारी हिंसा न्यूनीकरण गर्ने तथा युद्धविरामको वातावरण तयार गर्नेतर्फ वार्ता केन्द्रित भएको जनाएको छ ।

PlutonicTech

हालैमात्र, अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजादले काबुलको दुई दिने भ्रमण गर्नुभएको थियो । त्यस भ्रमणका क्रममा उहाँले अफगान अधिकारीहरु र प्रमुख राजनीतिक नेताहरुसँग भेटघाट र विचार विमर्श गर्नुभएको थियो । उहाँले पूर्व राष्ट्रपति हमिद कारजाईसँग समेत भेट गर्नुभएको थियो । अमेरिका र तालिबानबीच दोहामा यसअघि नौ चरणमा वार्ता भएका थिए र एउटा सम्झौतामा हस्ताक्षर हुनेक्रममा एकाएक वार्ता रद्द गरिएको थियो । काबुलमा तालिबान समूहले गरेको आत्मघाती आक्रमणमा एक अमेरिकी सैनिक समेत केही विदेशी र अफगानीहरुको मृत्यु भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच जारी वार्ता रद्द भएको घोषणा गर्नुभएको थियो ।

रासस/एएनआई


२३ मंसिर २०७६, सोमबार ०५:५२ मा प्रकाशित