अमेरिकाको न्युयोर्क असुरक्षित बन्दै : हत्या, डकैतीका घटनामा बृद्धि अघिल्लो बर्ष भन्दा अपराध बढेको प्रहरीको रिपोर्ट

दूरबिन नेपाल     २६ मंसिर २०७६, बिहीबार ०२:४२    

अमेरिकाको न्युयोर्क असुरक्षित बन्दै : हत्या, डकैतीका घटनामा बृद्धि

दूरबिन नेपाल, न्युयोर्क
आप्रवासीहरुको लागि उपयुक्त मानिएको न्युयोर्कमा अपराधका घटनामा बृद्धि भएको न्युयोर्क प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बर्ष २०१८ को तुलनामा चालु बर्षमा हत्या डकैती तथा आक्रमणका घटनामा चिन्ताजनक बृद्धि देखिएको छ । न्युयोर्क प्रहरीका नवनियुक्त कमीसनर डर्मोट शीयाले आफ्नो पहिलो ब्रिफिङका क्रममा न्युयोर्क प्रहरीको अपराध रिपोर्ट सार्वजनिक गर्दै सो चिन्ता व्यक्त गरेका हुन । कमीसनर शीयाका अनुसार सन २०१९ मा हत्याका घटनामा ८ दशमलव ७ प्रतिशतले बृद्धि भएको छ । सन २०१८ भरीमा दुई सय ७५ हत्याका घटना रेकर्ड भएका थिए भने बर्ष १९ को नोभेम्बर सम्ममा दुइ सय ९९ जनाको हत्या भइसकेको देखिएको हो । त्यसैगरी डकैतीका घटनामापनि यो बर्ष बृद्धि भएको छ । सन २०१८ मा ११ हजार आठ सय ८० डकैतीका घटना भएका थिए भने यो बर्षको अन्तिम महिना अघि नै सो संख्या १२ हजार एक सय पुगिसकेको छ । जुन अघिल्लो बर्षभन्दा एक दशमलव नौ प्रतिशतको बृद्धि हो । त्यसैगरी अघिल्लो बर्षभन्दा गम्भिर आक्रमणका घटनापनि बढेका छन । सन २०१८ मा १८ हजार ६ सय १२ गम्भिर आक्रमणका घटना दर्ता भएका थिए भने यो बर्ष नसकिंदै सो संख्या १८ हजार नौ सय ६६ पुगिसकेको छ । जुन अघिल्लो बर्षभन्दा एक दशमलव पांच प्रतिशतको बृद्धि हो ।

चोरी र बलात्कारका घटनामा कमी गोली प्रहारका घटना बढे
अपराधका अन्य घटनाहरुमा बृद्धि भएपनि बलात्कार र चोरी लगायतका घटनामा कमी आएको प्रहरीले जनाएको छ । अघिल्लो बर्ष भन्दा यो बर्ष गाडी चोरी, बलात्कार लगायतका घटनामा तीन दशमलव प्रतिशतले कमी आएको छ । तर गोली प्रहारका घटनामा भने तीन दशमलव चार प्रतिशतले बढेको कमीसनर शीयाले बताएका छन । समग्र अपराधका घटनामा कमी देखिएपनि हत्याका घटना बढ्नु चिन्ताजनक भएको न्युयोर्क सीटीका मेयर बि डे ब्लाजियोले सो कार्यक्रममा बताए । युवाहरुलाई गलत बाटोमा जानबाट रोक्न प्रहरीले पहल गर्नुपर्ने तथा समुहगत अपराध न्युनिकरण गर्नसके राज्यलाई सुरक्षित राख्न सकिनेमा कमीसनर र न्युयोर्कका मेयरको जोड थियो । न्युयोर्क प्रहरीका नवनियुक्त कमीसनर डर्मोट शीयाले ब्रोङ्क्समा गरेको आफ्नो पहिलो ब्रिफिङका बेला अघिल्लो बर्ष र यस बर्षको अपराधको चर्चा गरिएको थियो ।

PlutonicTech


२६ मंसिर २०७६, बिहीबार ०२:४२ मा प्रकाशित