तमु ल्होछार २०७६ विभिन्न साँस्कृतिक कार्यक्रमका साथ मनाइदै

दूरबिन नेपाल     २६ मंसिर २०७६, बिहीबार ०४:०४    

अमेरिका ।

 गुरुङ, तमु सोसाइटी अमेरिकाले, गुरुङ तमुहरुको महान पर्व तमु ल्होछार २०७६ विभिन्न साँस्कृतिक कार्यक्रमका साथ न्यूयोर्कमा मनाउँदै छ । तमु सोसाइटी अमेरिकाले बार्षिक रुपमा मनाउँदै आएको ल्होछार साँझ यस बर्ष डिसेम्बर २८ तारिख फाइव स्टार बेंकेट हल लंगआईल्याण्ड सिटीमा मनाउन लागेको लागेको हो । ल्होको अर्थ वर्ग र छारको अर्थ नयाँ हुने भएकोले ल्होछारलाई गुरुङहरुले नयाँ बर्षको रुपमा मनाउने चलन छ ।

वर्गको आधारमा उमेर गणना गर्ने तमु जातिले, यस बर्ष मृग वर्ग फो ल्होको विदाइ र मुसा बर्ग अर्थात च्यु ल्हो को स्वागत गर्दै ल्होछार मनाउँन लागेको तमु सोसाइटीले जनाएको छ । सोसाइटीले आफ्नो रीतिरिवाज, धर्म, संस्कारलाई जीवित राख्न र पुस्तान्तरणको लागी सन् १९९९ मा स्थापित गुरुङ (तमु) समाजले सन् २००१ मा न्यूयोर्क सिटीमा विधिवत रुपमा दर्ता भई हरेक बर्ष पौष १५ को दिनलाई ल्होछारलाई विशेष पर्वको रूपमा मनाउँदै आईरहेको छ । सोसाइटीले सम्पूर्ण गुरुङहरु एकजुट हौं, संस्कार र संस्कृतिको जगेर्ना गरौं भन्ने मूल नाराका साथ न्यूयोर्कमा ल्होछार पर्व मनाउँदै आएको छ । गुरुङ जातिले विभिन्न १२ ओटा जीवजन्तहरुको चक्रलाई आधार मानेर प्रत्येक बर्ष नयाँ बर्षको रुपमा ल्होछार मनाउने गरेको गुरुङ तमु समाजका अध्यक्ष विजय गुरुङले जानकारी दिए ।

ल्होछार पर्वले, गुरुङहरुको संस्कृतिलाई जगेर्ना गर्न, र प्रवर्दन गर्न तथा गुरुङ संस्कृतिलाई अन्तराष्ट्र्रियस्तरमा चिनाउन पनि बर्षेनी तमु ल्होछार मनाउँदै आएको सोसाइटीले जनाएको छ । कार्यक्रममा गुरुङ (तमु)हरूको संस्कृति झल्किने सोरठी, कौडा, तथा गुरुङ आमा समूहको भेषभुषाको विशेष प्रस्तुति, स्थानिय कलाकारहरूको गीत, नृत्य तथा विविध साँस्कृतिक प्रस्तुति रहने सोसाइटीले जनाएको छ । यो पर्वले गुरुङहरुबीच एकता, भाइचारा र आपसी सद्भाव कायम राख्न मद्दत पुग्ने आयोजकको दावी छ । नेपाल तथा विदेशमा बसोबास गर्ने गुरुङ जातिले हरेक बर्ष पुस १५ मा विविध सास्कृतिक कार्यक्रमसाथ ल्होछार पर्व मनाउँदै आएका छन् ।

ल्होछार पर्वलाई भव्य, सभ्य, सफल र हर्सोल्लासका साथ मनाउनका लागि सम्पूर्ण गुरुङहरुलाई उपस्थित भई सहयोग गरिदिन गुरुङ समाजले अनुरोध गरेको छ । ल्होछारमा, ६५ बर्ष भन्दा माथिका वृद्दवृद्दाहरु तथा १२ बर्ष भन्दा कम उमेरका बालबालिकाको लागि निशुल्क प्रवेशको व्यवस्था गरेको जनाएको छ । कार्यक्रम यही डिसेम्बर २८ शनिबारका दिन साँझ ७ बजेदेखि बिहान २ बजेसम्म विविध साँस्कृतिक कार्यक्रम तथा डिजे समेतको प्रस्तुति रहने सोसाइटीले जनाएको छ । नेपालमा हरेक बर्ष पुष १३, १४, र १५ गते विभिन्न कार्यक्रम आयोजना गरी यो पर्व मनाउँदै आएको छ, यस बर्ष विश्वका तमुहरु एक हौं भन्ने नारा सहित ल्होछार मनाउँदै छन् । फाईभ स्टार बंक्वेट १३ — ०५ ४३ एभिन्यु लंग आईल्याण्ड सिटीमा मनाउन लागेको ल्होछारमा सम्पूर्ण गुरुङ (तमु)हरू र गैह्र गुरुङ(तमु) हरूमा जानकारी गराउदै उपस्थितिको लागि अनुरोध गरेको छ ।


२६ मंसिर २०७६, बिहीबार ०४:०४ मा प्रकाशित