शहिद स्मारक ए डिभिजन लिगका लागि कतार एयरवेजद्वारा १ लाख ५० हजार अमेरिकी डलरको प्रायोजन  पुरस्कारमा एक करोड ४५ लाख 

दूरबिन नेपाल     २६ मंसिर २०७६, बिहीबार १४:२६    

शहिद स्मारक ए डिभिजन लिगका लागि कतार एयरवेजद्वारा १ लाख ५० हजार अमेरिकी डलरको प्रायोजन 

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगका लागि कतार एयरवेजले टाइटल प्रायोजन गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा र कतार एयरवेजका बीच बहिवार राजधानीमा प्रायोजन सम्वन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार लिगको टाइटल स्पोन्सर वापत कतार एयरवेजले एन्फालाई १ लाख ५० हजार अमेरिकी डलर प्रदान गर्नेछ। यसका लागि पहिलो किस्तामा ९० हजार र दोस्रो किस्तामा ६० हजार अमेरिकी डलर प्रदान गर्नेछ।

एन्फाले मंसिर २८ गतेबाट शुरु हुने  लिग सन्चालनका लागि  ६ करोड ३० लाख रुपैयाँ लाग्ने बताएको छ । महाभुकम्प पछि रोकिएको लिग एन्फाले गत बर्ष देखि पुन शुरु गरेको थियो । यद्यपी एन्फाले गत बर्षको लिग रेलिगेशन विना नै गरेको थियो । यस पटक भने एन्फाले एक टिम रेलिगेशनमा पर्ने जनाएको छ ।

 

यस पटकको लिगको  उद्घाटन खेलमा आगामि शनिबार दशरथ रंगशालामा  तीन बजे मछिन्द्र क्लब र ब्रिगेड ब्वाइज  क्लबबीच हुने छ । एन्फाले साधरण प्याराफिटमा दुई सय र भीआइपी प्याराफिटका लागि पाँच सय टिकट मुल्य तोकेको छ । दर्शक टिकटबाट एक करोड रुपैयाँ संकलन गर्ने एन्फाले लक्ष्य बनाएको जनाएको छ ।

 

१४ क्लब  भाग लिने लिगमा एक क्लबले १३ खेल खेल्ने छन् । लिगमा कुल ९१ खेल हुने छन् ।

 

एक करोड ४५ लाख पुरस्कार 

एन्फाले लिगमा पुरस्कारमा एक करोड ४५ लाख रुपैयाँ खर्च गर्ने भएको छ । लिगमा  छैटौं  स्थान प्राप्त गर्ने सम्मको क्लबलाई पुरस्कारको व्यवस्था गरेको छ । लिग च्याम्पियनले  ५० लाख पाउने छ । यस्तै  दोस्रो देखि छैटौ हुनेले क्रमस ३५ लाख, २५ लाख, १५ लाख, ७ लाख र ५ लाख  रुपैयाँ पाउने छन् ।

 

यसका साथै लिगको हरेक खेलमा विजयी हुने टिमले  ५० हजार रुपैयाँ पाउने छन् । बराबरी खेलमा दुबै टिमको भागमा  १५/१५ हजार रुपैया पर्ने छ ।  लिगमा  उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र कोचलाई १ लाख ५० हजार पाउने छन् ।

सहभागि टिमले लिग तयारी खर्च स्वरुप २०/२० लाख पनि पाउने छन् । एन्फा अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले लिगमा खेल मिलोमतो हुन नदिन र हरेक खेललाई प्रतिस्पर्धी बनाउन यस्तो प्रकारको पुरसकार व्यवस्था गरिएको दूरबिन नेपाल सँगको टेलिफोन कुराकानीमा बताए । 

 

 ए डिभजन लिग खेल्ने क्लबहरु

थ्री स्टार क्लब

PlutonicTech

मनाङ मर्स्याङदी क्लब

त्रिभुवन आर्मी क्लब

फ्रेन्डस् क्लब

मछिन्द्र क्लब

च्यासल युवा क्लब

नेपाल पुलिस क्लब

सरस्वती युवा क्लब

हिमालयन शेर्पा क्लब

संकटा क्लब

एपिएफ

जावलाखेल युथ क्लब

ब्रिगेड ब्वाइज क्लब

एनआरटी क्लब

 



२६ मंसिर २०७६, बिहीबार १४:२६ मा प्रकाशित