छि ! भुपु  नेपाली, वाह् ! गौरिका  ११ लाख भारतीयलाई नेपालीलाई नागरिकता , प्रवासी नेपालीलाई त्रिशुलीको त्रास

विनोद पौडेल     २७ मंसिर २०७६, शुक्रबार १०:३१    

विनोद पौडेल

केही समय पहिले नेपाल सरकारका पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विदेशमा भएका नेपालीलाई भूपू नेपाली भन्दै सार्वजनिक रुपमा गाली गरे ।  त्यति मात्र होइन भूपू नेपालीलाई त्रिशुलीमा बगाउने समेत भन्न भ्याए ।  विदेशिएका नेपालीले नेपालमा भएको जग्गा, सम्पत्ति उपभोग गर्न नपाउने , नागरिकतासँग जोडिएका कुनै पनि सहायता लिन नपाउने उनका भनाइहरू नेपाली मिडियामा छ्यापछ्याप्ती आए । विदेशमा बस्ने नेपाली माथिको पूर्वाग्रह होस वा सस्तो लोकप्रियताका लागि गरिने राजनीतिक स्टन्ट  मात्र ।  जे भए पनि देशको भूगोल भन्दा पर बसेर देश र आफन्तलाई माया गर्ने, श्रम र पसिनाले सिञ्चित गर्नेहरू माथि देशको जिम्मेवार मन्त्रीले गरेको विष बमनले प्रवासी नेपालीलाई आहत गर्यो ।

पण्डितले विदेशिएका नेपाली तिर फर्केर थुकेको थुक सुक्न नपाउँदै विदेशमै बस्ने नेपाली चेली गौरिका सिंहले सागको एउटै संस्करणमा चार स्वर्ण दिइन् । उनले देशको शिर उँचो बनाइन् । उनी नेपाल बस्दिनन् । उनी नेपाली पनि अंग्रेजी टोनमा बोल्छिन् । उनलाई नेपाली बोल्न भन्दा देशको शिर उँचो बनाउन आउँछ । देशको सफलताको लागी उनलाई पूर्व मन्त्री पण्डितले लगाएको धारे हातले खासै फरक पारेन ।

गौरिका उदाहरण मात्र हुन् । उनीजस्ता लाखौँ नेपाली छन्, जसले विदेशमा आफ्नो छाक कटाएर, थोरै खाएर, कम सुतेर सुका सुका जम्मा गरेको पैसा नेपाल पठाउँछन् । नेपालमा लगानी गर्न चाहन्छन् । नेपालमै भविष्य देख्छन् । परिवारको खुशी देख्छन् । घर घडेरी किन्छन् । परिवार र आफन्तलाई व्यापार व्यवसाय गर्न सघाउँछन् । केही वर्ष विदेश बसेर नेपाल फर्कौला र नेपालमै केही गरौँला भन्ने मीठा सपना बुन्छन् ।

त्यति मात्र होइन, नेपालमा कोही बिरामी भयो, कोही भोको भयो, बाढी पहिरो गयो, आगलागी भयो सहयोगमा जुटी हाल्छन् । मातृभूमि थोरै दुख्दा पनि विदेशमा बस्ने नेपालीहरू जुट्छन् । हातेमालो गर्छन् । आफ्नो छाक कटाएर पनि मातृभूमिलाई सघाउँछन् ।

तर तिनै सुन्दर नेपाली मनहरू राजनीतिका शिकार बन्छन् । तिनै नेपालीहरू भूपू नेपाली बन्छन् । तिनै नेपाली हेपिन्छन् । तिरस्कृत हुन्छन् । नेपाल र नेपालीसँग जन्मजात जोडिएको मायालाई थप प्रगाढ बनाउन खोज्दा लखेटिन्छन् । अनि छिमेकी भारतको बोर्डरबाट  ल्याइएका ११ लाख भारतीयलाई नेपालीलाई नागरिकता दिइन्छ । राज्य सञ्चालनका हकदार बनाउदै सांसद, मन्त्री बनाइन्छ । तर पुस्तौँ पुस्ता देशको भूगोलमा बसेका तर परिस्थिति र परिवन्धले विदेशमा कर्म गरिरहेका गौरिका जस्ता हजारौं नेपालीलाई नेपालको नागरिकता त्याग भनेर दवाव दिइन्छ । नेपालसँग जोडिन चाहेमा अधिकार बिहिन दोस्रो दर्जाको नागरिकताको भिख माग्न भनिन्छ ।

सामाजिक संजालमा केही दिन पहिले विदेशमा बस्ने एकजना नेपालीले “राष्टबादी सरकार विस्तारबादको अगाडी लम्पसार” भनेर स्टाटस लेखे । उनको स्टाटसको तल बिग्रेल्ती प्रतिक्रियाहरु आए । विदेशमा बसेर सरकारलाइ गाली गरेको भन्दै कतिपय राष्टबादीहरुले प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिने मध्येका एकजनाले लेखे, देशको मायाँ लाग्छ भने नेपाल आएर लेख । विदेशमा भाँडा माझेर ठूलो कुरा नगर भन्दै चुनौति दिए । ति प्रतिक्रिया दिने चाहीँ चिनेजाने कै युवा थिए । उनले केही समय पहिले अमेरिकाको भिजाको लागी आवेदन दिए, अन्तरवार्ता पनि दिए तर भिसा पाएनन् । उनले युरोप र अष्ट्लिया जान पनि प्रयास गरे तर सकेनन् । कतैको भिजा नलागेपछी अहिले उनी राष्टबादी भएका छन् । नेतालको अघिपछी हिड्ने, ठेक्का पट्टा समाल्ने र विदेशिएका नेपालीलाइ खिसिटिउरी र गाली गलौज गर्ने उनको दैनिकी बनेको छ ।

अर्को एकजना युवा छन् । पेशाले उनी निजामति कर्मचारी हुन् । उनले सामाजिक संजालमा राजनीति भन्दा बढी खेलकुद शेयर गर्छन् । अर्जेन्टिनाको खेलाडिले एक गोल हान्दा उनले संसार जिते जस्तै गर्छन । ब्राजिल, इटाली, जर्मनी भन्ने शब्दहरु उनको सामाजिक संजालमा धेरै अट्ने शब्द हुन् । उनले देशको लागी एउटा शब्द पनि खर्च गरेको देखिँदैन । तर विदेश बस्ने नेपालीले नेपालको बारेमा स्टाटस राख्यो भने उनले नराम्रो सँग गाली गलौजमा उत्रिन्छन् । उनी नेपाल बसेर नेपालका बारेमा एक शब्द खर्चिन्न्, नेपाल बसेर विदेशको समाचार प्यारो लाग्छ, तर विदेश बस्ने नेपाली आफ्नो मातृभूमीको बारेमा केही लेख्दा विरोध गर्छन ।

विदेशिएका नेपालीको विरोध गर्नु, होच्याउनु आफुलाई राष्टबादी देखाउने एउटा हतियार बनेको छ अचेल । पुर्व मन्त्री पण्डितले पनि त्यही गरे । उनलाई पनि विदेश बस्ने नेपालीलाई गाली गर्दै राष्ट्रबादी भएको ढ्वाङ पिट्नु थियो । यही राष्ट्रबादको हतियार लिएर चुनाब जित्नु थियो । अल्छि हरुको केही झुन्डलाई अमेरिका युरोपको भिजा नपाएको झोकमा विदेश बस्ने नेपालीलाइ कमजोर बनाउनु थियो । यही अबसरको उपयोग गर्दै आफनलाइ राष्ट्रबादी कार्यकर्ता घोषणा गर्दै कुनै राष्ट्रवादी पार्टीमा गएर काम नगरी लुटेर पैसा कमाउने चोर बाटो फेला पार्नु थियो । बिरोध गरे । गाली गरे । सरापे । थुके । हिजो सयौं राष्ट्रबादीले भूपू नेपाली भनेर थुकेके थुक सुक्न नपाउँदै गोरिकाले पौडीमा चार स्वर्ण दिइन र राष्ट्रबादी सरकारलाइ खेलमा प्रगति गरेर अझै राष्ट्रवादी कहलाइदिइन । उनी पौंडिदै गर्दा पुर्वमन्त्री पण्डितको बचन सम्झेको भए मात्रै पनि यो उपाधी आउने थिएन। उनी देश सम्झेर खेलिन ।

गौरिकाले नेपाललाइ खेलकुदमा दिएको सफलताबाट नेपाल सरकारले घमन्ड गर्नु भन्दा पनि केही सिक्नुपर्ने देखिन्छ । उनी नेपालमै बसेर पौडि सिक्थिन भने एउटै संस्करणमा चार स्वर्ण ल्याउन असम्भव थियो । यो सफताको पछाडी उनको परिवार, संस्कार, सिप, सिकाइको निरन्तरता, खेलमैदान, लगानी, शिक्षा र प्रशिक्षक छन्, जुन नेपालमा सम्भब छैन् । यि कुरा सम्भव हुनको लागी सरकार चलाउनेहरुले सिक्नुपर्छ । खेल जित्दा राष्टवादी अरु बेला भूपू नेपाली भनेर लगाइने विल्लाले सायदै कसैलाइ फाइदा पुर्याउला ।

नेपालले सागमा राम्रो नतिजा ल्यायो । देशले ५१ वटा स्वर्ण पदक ल्याउनु नेपालको लागी सानो कुरा होइन । तर यो सफलतामा सरकारको भुमिका के थियो भन्ने प्रश्न आउँछ । राम्रो खेल मैदान छैन । खेलकुद सामग्री छैनन्, चाहिने साइकल छैन, लुगा छैनन् । बन्दुक मागेर खेल खेल्नु परेको छ । प्रशिक्षक छैनन् ।

खेल जितेपछी जित्नेलाइ सम्मान गर्नु भन्दा खेल पहिलै बन्दुक, साइकल किन्ने पैसा दिन सकेको भए खेलाडिको आत्मबल कति बढ्थ्यो होला? विदेशमा बस्ने नेपालीलाई थुक्नु भन्दा उनीहरुले आर्जन गरेको दक्षता, शिप, क्षमता र बटुलेको अनुभवलाई देशसँग जोड्नसके खेलमा जस्तै अरु क्षेत्रमा पनि नेपालले स्वर्ण हासिल गर्न सक्छ भन्ने यो मननयोग्य उदारण हो । साग खेलमा जस्तै नेपालीलाई देशको बृहत्तर हितका खातिर सवै क्षेत्रमा सहभागी गराएर अगाडि बढाउदा देशको इज्जत पक्कै बढ्छ ।

भौगोलिक रुपमा जहाँ बसेपछि नेपालीको मन नेपालबाट टाढा छैन । नेपालको करिब २५ प्रतिशत जनसंख्या देश बाहिर छ । यहि २५ प्रतिशतले पसिना बगाएर नेपाल पठाएको रेमिटेन्सले देश चलेको छ । देशको शिक्षा, स्वास्थ्य, खेलकुद र विकास सम्म सबै कुरामा विदेशिएका नेपाली र विदेशी दाताको योगदान छ । तर रगत-पसिना बगेको मातृभुमी प्रतिको अटुट स्नेह भएका प्रवासी नेपालीलाई दोहोरो नागरिकता दिने कुरामा अड्चन सिर्जना गरेर छिमेकी देशका नागरिकलाई दोहोरो नागरिकता र राष्टियता बेच्दा पनि सवै  मौन देखिनु बिडम्वना हो । राजनीतिक भबिष्य अन्धकारमा पर्लाकी भनेर छिमेकीको भय र त्रासमा बाचेका नेपालका राजनीतिक दल र नेताहरुबाट प्रवासी नेपालीले अरु के अपेक्षा गर्ने  ?


२७ मंसिर २०७६, शुक्रबार १०:३१ मा प्रकाशित