नेपालको जनकपुरमा बम बिष्फोट प्रहरी निरीक्षक सहित तीन जनाको मृत्यु

दूरबिन नेपाल     २८ मंसिर २०७६, शनिबार ०३:५४    

दूरबिन नेपाल, नेपाल सम्बाददाता
नेपालको धनुषाको छिरेश्वरनाथ नगरपालिका स्थित महेन्द्रनगरमा भएको बम विष्फोटमा प्रहरी अधिकृत सहित तीन जनाको ज्यान गएको छ । बम बिष्फोटबाट घाइते भएका प्रहरी निरीक्षक अमिर कुमार दाहालको पनि मृत्य भएको अस्पतालले जनाएको छ । बमको छर्रा लागि गम्भिर घाइते भएको निरीक्षक दाहालको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनको कोखामा बमको छर्रा लागेको थियो । धनुषा जिल्लाको महेन्द्रनगर बजार नजिक कुचाइ टोलको पोलमा राखिएको बम विष्फोट हुँदा नजिकै घर भएका राजेश शाह र उनका छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अन्य चार जना घाइते समेत भएका छन । घटना मृतक राजेश साहको घरबाहिर भएको थियो । घर बाहिर पोलमा शंकास्पद वस्तु भएको जानकारी प्रहरीलाई प्राप्त भएपछि मृतक प्रहरी निरीक्षक दाहालको नेतृत्वमा टोली खटिएको थियो । बम राखिएको क्षेत्रलाई खाली गर्दै गर्दा बिष्फोट भएको थियो । यो समाचार तयार पार्दा सम्म घटनाको जिम्मेवारी कसैले लिएको छैन । घटनास्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।

तस्विरः फेसबुक


२८ मंसिर २०७६, शनिबार ०३:५४ मा प्रकाशित