जनजाति आवाजः अधिवेशन लगत्तै फिप्नाले बुझायो नेपाल सरकारलाई ज्ञापन पत्र आदिवासी जनजातिका मागहरुलाई सम्बोधन गरिनुपर्छ, अध्यक्ष, चेम्जोङ

दूरबिन नेपाल     १६ पुष २०७६, बुधबार ०४:१९    

जनजाति आवाजः अधिवेशन लगत्तै फिप्नाले बुझायो नेपाल सरकारलाई ज्ञापन पत्र

 

दूरबिन नेपाल, न्युयोर्क
नेपाल आदिवासी जनजाति महासघ, अमेरिका (फिप्ना)ले विभिन्न माग राखि नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्रमा नेपालको संविधान २०७२ संघीय लोकतान्त्रिक भएको र यसले सबै आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम, खस आर्य, शिल्पी लगायतका समुदायको हक अधिकारलाई सुनिश्चित गरेको भएपनि वर्तमान सरकार त्यस विपरित चलिरहेको आरोप लगाइएको छ । वर्तमान अवस्थासम्म आइपुग्न अर्थात २५० बर्षीय राजसंस्थाकोे सट्टा अहिलेको अवस्थासम्म आइपुग्न गरिएका परिवर्तनको आन्दोलनमा आदिवासि जनजाति, मधेसी, थारु लगायतका समुदायले कैयन त्याग र बलिदानी गरेको कुरा स्मरण गराइएको छ । तर विपरित सरकार चलिरहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । सरकारले अझैपनि भाषा, संस्कृति, चाड तथा पर्वमा विभेद गरिरहेको तथा सार्वजनिक विदा दिनपनि कन्जुसाई गरीरहेको आरोप लगाइएको छ ।

सबै जाती, भाषा र धर्मलाई समान व्यवहार गर्न माग गरिएको छ । त्यसैगरि प्रदेशको राजधानी र नाम सत्तारुढ दलले मनोमानी ढंगले तथा एकलौटी रुपमा जनभावना विपरित तोकेको विषयमापनि गम्भिर आपत्ति जनाइएको छ । ज्ञापनपत्रमा प्रदेश सभालाई निकम्मा सावित गर्न खोजिएको आरोपपनि लगाइएको छ । प्रदेशको नामांकन पहिचान र ऐतिहसिकताको आधारमा तय गर्न माग गरिएको छ । यसैगरि नेपाली सिमा मिचिएको विषयमापनि फिप्नाले गम्भिर ध्यानाकर्षण भएको अवगत गराउंदै सिमा सुरक्षाको लागि भरपर्दो कदम चाल्न सरकारसंग आग्रह गरिएको छ । ज्ञापनपत्रमा नेपाल भ्रमण बर्ष २०२० को सफलताको शुभकामना समेत दिइ नेपाल आदिवासी जनाजाति महासंघ, अमेरिकाले भ्रमण बर्ष सफल बनाउन सक्रिय सहभागिता जनाउने प्रतिवद्धतापनि व्यक्त गरेको छ ।

PlutonicTech

प्रधानमन्त्री केपी ओलीलाई सम्बोधन गरिएको ज्ञापन पत्र न्युयोर्कस्थित नेपाली महावाणिज्यदुतावास मार्फत बुझाइएको हो । ज्ञापनपत्र कार्यवाहक महावाणिज्य दुत पुष्पराज भट्टराईले बुझेका थिए । फिप्नाका नवनिर्वाचित अध्यक्ष लोक चेम्जोङ र महासचिव नरेन्द्र थापाको हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाउन फिप्नाका पदाधिकारी सहित आदिवासी जनजाति अधिकारकर्मीहरु पुगेका थिए ।


१६ पुष २०७६, बुधबार ०४:१९ मा प्रकाशित