अमेरिकी संसदमा विपक्षी नेतृ न्यान्सी पेलोसीद्धारा सबभन्दा लामो संसदीय भाषणको रेकर्ड कायम

दूरबिन नेपाल     २५ माघ २०७४, बिहीबार १८:२० | ८४ पटक पढिएको

अमेरिकी संसदको तल्लो सदन ‘हाउस अफ रेप्रिजेन्टेटिभ’मा विपक्षी नेतृ न्यान्सी पेलोसीले लगातार आठ घण्टासम्म मन्तव्य राखेर सन् १९०९ पछि संसदमा सबभन्दा लामो बोलेको रेकर्ड राखेकी छिन्। बुधबार बिहान १० बजे बोल्न शुरु गरेकी पेलोसीले साँझ छ बजे मात्र आफ्नो मन्तब्य टुंग्याएकी थिइन्। आफूलाई ‘म्याराथन स्पीकर’ बनाउने होडमा नभएर ड्रिमर्स भनिने बाल्यकालमै परिवारका साथ अमेरिका आएका कागजपत्र-बिहीन बालबालिकाहरुलाई अमेरिकामा नै स्थायी बसोबासको व्यवस्था गर्न संसदमा भोटिंग प्रकृया तत्काल शुरु गर्न माग गर्दै यति लामो समयसम्म बोलेको बताउने पेलोसीले यस अघि मिजौरीका सांसद च्याम्प क्लार्कले सन् १९०९ मा पाँच घण्टा १५ मिनेटसम्म संसदमा बोलेको रेकर्ड भंग गरिदिएकी छिन्। आफ्नो संसदीय भाषणमा उनले ड्रिमर्सहरुका शैक्षिक लगाएत मानवीय सेवामा गरेका प्रगति-प्रतिवेदनहरु समेत पढेकी थिइन्। अमेरिकी सपनालाई साकार पार्न लागिरहेकाहरुलाई त्यत्तिकै देश निकाला हुनुपर्ने अवस्थामा पुय्राउन नहुने भन्दै ‘हाउस’मा यस सम्वन्धी कानूनी प्रवधान सहितको विधेयकमा मतदान गराउन डेमोक्र्याटहरुले माग गरिरहेका भएपनि राष्ट्रपति ट्रम्पले चाहे अनुसारको विधेयक मात्र मतदानमा ल्याउने बताएर अमेरिकी संसदका सभामुख (स्पिकर) पउल रायनले उनीहरुको मागलाई बेवास्ता गर्ने संकेत गरेका छन्।

मेक्सिको बोर्डरमा अग्लो पर्खाल, डिभी लोट्रीको खारेजी सहित बृहत पारिवारिक सम्वन्धका कारण संभव ‘चेन माइग्रेसन’को अन्त्य र मेरिटका आधारमा ‘ग्रिन कार्ड’ दिने व्यवस्था सहितको आप्रवासन सुधार योजनामा डेमोक्र्याटहरुले सघाएमा १८ लाख कागजपत्र बिहीन बालाबलिकाहरुलाई अमेरिकी नागरिक बन्ने आधार सहितको कानूनी व्यवस्था लागूगर्न आफू तयार रहेको बताईरहेका राष्ट्रपति ट्रम्पले यो विषयलाई आफ्नो ‘इमिग्रेसन रिफर्म’ योजना अन्तर्गत चारखम्बे नीतिका रुपमा हालैको ‘स्टेट अफ द यूनियन’मा समेत समावेश गरेका छन्। राष्ट्रपति ट्रम्पको आरोप छ “डेमोक्र्याटहरु ‘डाका’ अन्तर्गत संरक्षित ड्रिमर्सहरुका बारेमा चिन्तित छैनन्, उनीहरु समग्रमा आप्रवासन सुधार नै चाहँदैनन्।”


प्रत्येक १० मध्ये ७ जना अमेरिकनहरु आप्रवासन सुधारको पक्षमा भएको समेत राष्ट्रपति ट्रम्पले आफ्नो हालसालैको एउटा ट्वीटमा उल्लेख गरेका छन्। रिपव्लिकनहरुको बहुमत रहेको हाउस र ५१-४९ को झिनो बहुमत रहेको सिनेटमा रिपव्लिकनहरुलाई राष्ट्रपतिले चाहेजस्तो मात्र विधेयक पास गराउन त्यति सहज छैन। सिनेटमा कुनै पनि महत्वपूर्ण विधेयक पास गराउन ६० भोट चाहिन्छ र त्यो डेमोक्र्याटहरुको सहयोग बिना संभव नै छैन। तसर्थ मार्चको पहिलो साता सकिने ‘डाका’को कानूनी हैसियत सम्वन्धी बिवादले अझै केही दिन अमेरिकी संसदीय गतिविधि प्रभावित भैराख्ने निश्चित छ। यसैबीच आजसम्म मात्र समय सिमा रहेको खर्च सम्वन्धी विधेयकमा आजै अमेरिकी संसदको दुबै सदनमा मतदान हुने कार्यक्रम रहेको अमेरिकी संचार माध्यमहरुले जनाएका छन्। खर्च विधेयक पास हुन नसके फेरी संघीय सरकार बन्दको खतरा भने रहिरहेको छ।

Photo: Nancy Pelosi-Zach Gibson/Bloomberg,
The US House photo-Sujan Pandit


२५ माघ २०७४, बिहीबार १८:२० मा प्रकाशित