अग्नि सापकोटाको विरोधमा माइतिघर मण्डलामा दुख नगरे हुन्छ : प्रचण्ड 

दूरबिन नेपाल     ८ माघ २०७६, बुधबार १४:४८    

काठमाडौं । प्रतिनिधि सभा सभामुखका लागि प्रस्तावित अग्नि प्रसाद सापकोटाका विरुद्धमा अब दुख नगर्न नेपाल  कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एव‌ं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आग्रह गरेका छन् ।

व्यक्ति हत्या आरोपमा अदालतमा मुद्दा विचाराधिन रहेका व्यक्तिलाई सभामुख बनाउन लागेको भन्दै मानवअधिकारकर्मीका एक समुहले  माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका थिए ।

 

अध्यक्ष प्रचण्डले सापकोटालाई सभामुख बनाउन सिंगो देश एक ठाउँमा उभिएको बताउदै  सशस्त्र द्वन्द्वकालिन मुद्दा अब उचल्नुको कुनै अर्थ नहुने दावी गरे ।  प्रचण्डले भने,   ‘उहाँमाथि केही पनि छैन, बेकारको कुरा हो त्यो,  ‘हाम्रो पार्टीले त सर्वसम्मत रुपमा अग्निप्रसाद सापकोटालाई हामीले अघि सार्‍यौं । प्रतिपक्ष र अरु पार्टीहरुले समेत समर्थन गरेपछि राष्ट्र एकठाउँमा भएको बेलामा साथीरुले यो जाडोमा माइतीघर मण्डलामा दुःख नगरे हुन्छ ।’

सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप छ । काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लामालाई माओवादी कार्यकताले १६ वैशाख २०६३ मा अपहरण गरेका थिए । त्यसको दुई महिनापछि तत्कालीन बूढाखानी गाविसमा गाडेको अवस्थामा लामाको शव भेटियो ।

लामाकी श्रीमती पूर्णीमायाले तत्कालीन माओवादीका नेताहरु सापकोटा, सूर्यमान दोङ लगायतविरुद्ध २०६४ असार २६ मा जिल्ला प्रहरी कार्यालय काभ्रेमा किटानी जाहेरी दिइन् । सो मुद्दा अहिले अदालतमा विचाराधिन छ ।


८ माघ २०७६, बुधबार १४:४८ मा प्रकाशित