न्युयोर्कमा सन्दुक रुइतको प्रेरणाात्मक कार्यक्रमका सन्देशहरुः

दूरबिन नेपाल     ८ फाल्गुन २०७६, बिहीबार १६:४९    

केशवराम राई, न्युयोर्क
दूरबिन नेपाल
एसीयाको नोबेल पुरस्कारको रुपमा मानिने म्यागासेसे पुरस्कार विजेता तथा आंखा विशेषज्ञ डा सन्दुक रुइतको कार्यक्रम न्युयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । डा सन्दुक रुइतले मोटीभेसनल स्पीच दिएको कार्यक्रममा श्रोताहरुको उल्लेख्य उपश्थिती थियो । यो उपस्थिती अन्य भन्दा यसकारणपनि फरक र महत्वपुर्ण थियो की सो मोटीभेसनल स्पीचको कार्यक्रम थियो अनि आयोजक भर्खरका युवा भाइबैनीहरु थिए । भोइस फर युथ नामक युवाहरुको समुहले गत १५ फेब्रुअरी मा न्यू योर्कमा आयोजना गरेको कार्यक्रममा संसारमै प्रचलित नेपाली ‘दृष्टिदाता’ डा. सन्दुक रुइतले प्रेरक मन्तव्य दिएका थिए । युवाहरुको आयोजनामा भएको सो कार्यक्रममा मानिसहरुले डा सन्दुक रुइतलाई सुन्न पाउंदा निकै खुशी भएका थिए । कार्यक्रम सार्थक र भव्य भएकोमा आयोजकपनि दंग थिए । कार्यक्रममा आफ्नो पेरणात्मक मन्तव्यको क्रममा डा रूइतले आफूलाई देवत्वकरण गर्दै दृष्टिदाता भगवान भन्ने गरेको बारे आफु मानवनै भएको तर सेवा गर्न संधै तत्पर रहने स्वभावको रहेको बताए । आफ्नो मोटीभेसनल स्पीचका क्रममा डा रुइतले भने “हामी नेपालीहरु कसैलाई प्रशंशा वा गुणगान गर्दा, त्यो ब्यक्तिलाई देवत्वकरण गर्छौं, अलौकिक बनाउँछौ, डा. सन्दुक रुइतलाई पनि त्यसै गर्यौं, डा.रुइतको नामको अगाडि र पछाडि अब कुनै बिशेषण झुण्ड्याइ रहनु पर्दैन डाक्टरपनि नलेख्दा हुने भैसक्यो” डा रुइतको यो अभिव्यक्ति सम्मान तथा नामको अगाढी पछाडी विशेषण झुण््डयाउन मरीहत्ते गर्नेहरुको लागि व्यंगको रुपमा पनि लिन सकिन्छ ।

 


त्याग, समर्पण, कर्मवीर, मानवीयता, जुझारुपन आदि नै सन्दुक रुइतका पर्यायवाची शब्दहरु बनीसकेका छन । भाग्यको वा कर्मको लेखा ठानेर बर्षौँ बर्ष दृष्टिविहिन भएर जिवन गुजारीरहेका निमुखा, बेसाहरा बनेकाहरुको घर दैलोमा गै डा रुइतले दृष्टि दिलाई दिएर संसार देखाउने काम सौच्चै देवकर्म नै हो । दुर दाराजका स्थान जहां राज्य पुगेको हुंदैन स्वास्थ्य सेवा त परको कुरा, त्यस्ता डाँडा काँडा वा खोला नाला अर्थात भञ्ज्याङ, देउरालीहरु छिचोल्दै डा रुइत पुग्छन् तिनका आँखा ठीक पार्न तिनकै आँगनमा । ति दुर्गम् स्थानहरुमा जानै पर्ने उनको बाध्यता हैन तर मानवीय सेवा गर्ने चाहनाले पुर्याउंछ । उनको यस्तो कार्यले सबै चकित पर्छन, प्रेरणा लिन्छन हौसला मिल्छ र सन्दुकबाट सार्थक जीवन यसरी जिउनुपर्छ भनेर सन्देश पाउंछन । त्यसबेला उनी कुनै बर्ग जा समुदायका हुंदैनन । उनी सबैका मानवीय सहयोगी बन्छन । त्यसैले त डा सन्दुक सबैका प्रीयछन । यो पंक्तिकारले आफ्नै ओलाङ्चुङे, र नातेदारको प्रसंसा गरेको पक्कै होइन । एउटा कर्मवीर, निस्वार्थी, आफ्नो पेशामा दत्तचित, मानवीय गुणले भरीपूर्ण, सहि मानेमा देशप्रेमी, दृष्टिदाताबाट प्रेरणा पाएर नै आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको मात्र हो ।

Voice for Youth को सो कार्यक्रमको अर्को आकर्षक पक्ष भनेको त्यहा कुनै पट्यारलाग्दो भाषण थिएन, न मञ्चासन, न आसनग्रहण, न खादाओढन गरियो । नेपाली कार्यक्रमको स्तुतिगानवाला सम्बोधन माननीय, पूज्यनीय, ढोगनीय आदि शब्दहरुपनि सुन्नै परेन । हलभित्र तरुना तन्देरी स्वयमसेवकहरुको कार्यशैली पनि चुस्त दुरुस्त थियो । कार्यक्रमको उद्घोषक बनेका युवा समूहका छिरिङ्ग लामा भाईलाई भ्याइ नभ्याइ थियो । हलको एकछेउदेखि अर्को छेउ, यता र उता कुदिरहेका देखिन्थे । चार सय ५० सिट क्षमताको हल भरिएर, बाहिर अझै मानिसहरु उभिएका थिए ।

Motivational Speech का लागि निम्त्याइेएका डा. सन्दुक रुइतलाई निश्चित समयमै हलमा प्रवेश गराएर, कार्यक्रम शुरु गराइयो । उनी प्रखर वक्ता होइन, यो उनको पेशा पनि होइन । आँखामा भएको जटिल भन्दा जटिल समस्यालाई छुमन्तर गर्ने उनको हातमा जादु छ । त्यो उनको पेशा हो । आफ्नो सत्कर्म, सदभाव र समभावबारे, सरल, स्पष्ट र अर्थपूर्ण बयान दिए Success doesn’t come in shortcut अर्थात छोटकरीमा सफलता हाँसिल हुँदैन भन्ने सन्देश सम्प्रेषण गरे । अझ त्यस कार्यक्रमको culmination चाहीँ प्रश्नोत्तर सेशन थियो, जहाँ डा. रुइट अझ बढी खुले । त्यो जिउँदो छलफल सबै श्रोताले रुचाए ।
डा रुइतकोबारे नेपालमा नेपालीहरुले उनको सत्कर्मको नेपाली पाराले नै चर्चा परिचर्चा गरेका छन् । एकजना विदेशी पत्रकार तथा लेखक David Oliver Relin ले डाक्टर सण्डुक रुइट र उनको सहकर्मी डाक्टर Geoffrey Tabin को कर्मिक जीवनको बारेमा Second Suns नामक एउटा सत्य कथामा आधारित किताब नै लेखेका छन् । बहुचर्चित किताब  का Three Cups off Tea सहलेखक पनि हुन । हालसालै, अष्ट्रेलियाली पत्रकार अली ग्रिपरले कर्मवीर सन्दुक रुइतबारे The Barefoot Surgeon नामक किताब प्रकाशित गरेकी छिन् । यो किताबलाई नेपालीमा खगेन्द्र संग्रौलाले अनुवाद गरेका छन ।


कार्यक्रमहूनु तीन दिन अघि, न्यूयोर्कस्थित ओलाङ्चुङ समाजका भूपू अध्यक्ष दावा छिरिङ्गले मलाई फोन गरेकाथिए ‘लु तपाईलाई छिरिङ्ग लामा भाईले खोजिरहेको छ । छिरिङ्ग नाम भएका मेरा थुप्रै फेसबुके साथीहरु छन, कुनचाहिं छिरिङ्ग भनेर सोध्दा, डा. सन्दुक रुइतको कार्यक्रम आयोजना गर्ने छिरिङ्ग भन्ने थाहा पाउनासाथ, लगतै हामी भेट्यौँ । एकछिनको कुराकानीबाटै थाहा भयो( छिरिङ्ग भाई कामकाजी ब्यक्ती रहेछ । सानो उमेरको भैकन पनि पाको ब्यवहार भएका छिरिङ्गले भनेका थिए “डा. सण्डुकको नातेदारहरु तपाईंहरु यहाँ हुनुहुँदो रहेछ, म चाही अनेक च्यानल मिलाएर उहाँसित संपर्क गर्न पुगें । अब दाइहरुले कार्यक्रम सफल पार्न मलाई मद्धत गर्नुपर्यो” मैले सहयोग गर्ने भनेको मेरो लेखन मार्फत कार्यक्रमबारे उकेरा लगाउने हो भनेर उनलाई आश्वासन दिएँ । मलाई जस्तै थुप्रै ब्यक्तिहरुसित यसरी नै एप्रोच राखेका हुनाले र आफ्नो लगन, मेहनत, जुझारुपन प्रव्रितिले गर्दा नै कार्यक्रम अत्यन्तै सफल भयो ।
छिरिङ्ग, लेलिन र अन्य केही अग्रभागमा देखिए पनि, पर्दा पछाडि काम गर्ने समर्पित युवाहरुको उपस्थिती हामीले छर्लङ्ग देख्यौँ । कुनै ब्यक्ति बिशेषको अगुवाइले पक्कै पनि माने राख्छ, तर दह्रो तालले एक्यबद्वता जनाउने जमात भएन भने लक्ष हाँसिल हुँदैन । Voice for Youth  को मामलामा पनि यो लागु हुन्छ । युवाहरुको आवाज र यो सन्देशले ज्याक्सन हाइट र न्युयोर्कमा रहेका अन्य नेपालीहरुलाई छुन्छ छुंदैन त्यो त उनीहरुले गर्ने आगामी भेलाहरुमै प्रष्टिनेछ । तर Voice for Youth  ले अझै यस्ता कार्यक्रमहरु गर्दै जानु पर्छ । नआत्तिने अनि नमात्तिने सन्देश दिंदै जानुपर्छ । अनि यस्ता जुझारु युवाहरुलाई स्यावासी दिन चाँहीँ कन्जुस्याइँ नगरौँ ।

:लेखक राई न्युयोर्कका सामाजिक अभियन्ता हुन

Share and Enjoy !

0Shares
0 0 0

८ फाल्गुन २०७६, बिहीबार १६:४९ मा प्रकाशित