यौन हिंसा काण्डमा हलिउड चलचित्र निर्माता वाइन्स्टाइन दोषी ठहर २५ वर्ष जेल सजाय हुनसक्ने

दूरबिन नेपाल     १४ फाल्गुन २०७६, बुधबार ०२:०३    

दूरबिन नेपाल, न्युयोर्क ।

  हलिउडका प्रख्यात निर्माता तथा निर्देशक हार्भी वाइन्स्टाइन बलात्कार तथा यौन हिंसाका मुद्दामा दोषी ठहर भएका छन । सोमबार न्युयोर्कको म्यानहाटन जुरीले हार्भीमाथि  लागेका पाँच आरोपमध्ये दुईवटामा दोषी ठहर गरेको हो । ६७ वर्षीय हार्भीले कैयन महिलाहरूलाई यौन दुर्व्यवहार तथा यौन हिंसा गरेको आरोप लगाइएको छ । उनीमाथि सय भन्दा धेरै महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप छ । म्यानहाटन जुरीले उनीमाथि तेस्रो दर्जाको अपराध अर्थात थर्ड डिग्री क्रिमिनल मानेको छ । यद्यपि उनीमाथि लागेका अन्य आरोपहरूको बारे छानविन भइरहेको छ । हाल अशक्त रहेका वाइन्स्टाइनमाथि  महिलाहरूलाई बाध्यतावश यौन क्रियाकलाप गर्न लगाएको आरोप छ ।


उनले महिलाहरू जो हलिउडमा स्थापित हुन चाहन्थे, उनीहरूलाई प्रलोभनमा पारेर जबरजस्ती गरेको आरोप महिलाहरूले लगाएका छन । केही वर्षअघिबाट शुरु भएको मी टु अभियान मार्फत पीडित महिलाहरूले हार्भीले गरेको यौन दुर्व्यवहार सार्वजनिक गरेका थिए । हलिउडमा पहिचान बनाउन चाहने महिलाहरूलाई हार्भीले आफ्नो निजी अपार्टमेन्टमा बोलाउने अनि बलात्कार गर्ने गरेको आरोप लागेको छ ।


हार्भीले सहायक निर्माता मीमी हलेयीमाथि सन २००६ मा आफ्नै अपार्टमेन्टमा जबरजस्ती करणी गरेको मीटु अभियान मार्फत मीमीले सार्वजनिक गरेकी थिइन । हार्भीले सन २०१३ मा पनि अर्कै महिलामाथि यौन हिंसा गरेकोमा दोषी ठहर गरिएको छ । उनलाई २५ वर्ष सम्मको जेल हुनसक्नेछ । अझैपनि उनका यौन हिंसाका अन्य क्रियाकलापमाथि छानविन भइरहेको छ । हार्भीका वकिलले आरोपको बारे र जुरीको फैसलाबारे माथिल्लो अदालतमा अपिल गर्ने जनाएका छन ।

Share and Enjoy !

0Shares
0 0 0

१४ फाल्गुन २०७६, बुधबार ०२:०३ मा प्रकाशित