महावीर पुनले कोरोना भाईसरका लागि चाहिने पिपिई निःशुल्क दिने

दूरबिन नेपाल     १५ चैत्र २०७६, शनिबार १५:३४    

महावीर पुनले कोरोना भाईसरका लागि चाहिने पिपिई निःशुल्क  दिने

काठमाडौँ, १४ चैत । महावीर पुनले कोरोना भाइरसको उपचार गर्न चिकित्सकले लगाउने पोशाक ‘व्यक्तिगत सुरक्षा उपकरण’ (पिपिई) निःशुल्क उपलब्ध गराउने हुनुभएको छ । बिहीबारदेखि पिपिई बनाउन थाल्नुभएका पुनले सरकार र अस्पताललाई आफूले निःशुल्क रुपमा उक्त सामग्री वितरण गर्ने बताउनुभयो ।

बिहीबार नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालालाई नमूना देखाएपछि साँझैबाट उत्पादन शुरु गरिएको उहाँले बताउनुभयो । “एउटा पिपिई बनाउनका लागि एक हजार पर्छ”, उहाँले भन्नुभयो, “एक हजार उठाउँदै जान सम्भव हुँदैन । त्यसैले उक्त सामग्री निःशुल्क दिनेछु ।”

चप्पल कारखाना र पेप्सीकोला दुई ठाउँमा छजना मजदुरले अहिले पिपिई उत्पादन गरिरहेका छन् । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत रहनुभएका पुनका अनुसार एकजना मजदुरले दिनमा आठवटा पिपिई बनाउने छन् ।

त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, बिपी कोइराला विज्ञान प्रतिष्ठान अस्पताल धरानका चिकित्सकले पिपिई बनाउन भनेपछि उहाँले बनाउन थाल्नुभएको हो । “शिक्षण अस्पतालका चिकित्सकले एउटा नमूना दिनुभयो” उहाँले भन्नुभयो, “अनि त्यही नमूनाअनुसार मैले पिपिई बनाउन थालेको हुॅ ।” उहाँले पिपिई बनाउन थालेपछि जिल्लाका अस्पतालबाट चाहियो भनेर फोन आउने गरेका छन् ।

मजदुर र कच्चा पदार्थको अभाव

पुनले कोरोना भाइरस रोकथाम गर्न प्रयोग गरिने पिपिई आफूले उत्पादन गरे पनि अहिले लकडाउनका कारण मजदुर र कच्चा पदार्थको अभाव भएको बताउनुभयो ।

‘‘मैले चाहिनेजति नै पिपिई बनाउने थिएँ’’ उहाँले भन्नुभयो, ‘‘तर अहिलेको अवस्थाले गर्दा मजदुर र कच्चा पदार्थ पर्याप्त नपाइएकाले धेरै बनाउन समस्या भइरहेको छ ।’’ उहाँले पिपिई बनाउन चाहिने कच्चा पदार्थ र मजदुर अहिले खोजिरहनुभएको छ ।
रासस


१५ चैत्र २०७६, शनिबार १५:३४ मा प्रकाशित