कोरोनाबाट मृत्यु भएका अनिल लिम्बुको दाहसंस्कार अस्पतालले नै गर्ने शनिवार नै हुने दहासंस्कारमा परिवारको सहभागिता नहुने

दूरबिन नेपाल     १५ चैत्र २०७६, शनिबार १७:१२    

कोरोनाबाट मृत्यु भएका अनिल लिम्बुको दाहसंस्कार अस्पतालले नै गर्ने

दूरबिन नेपाल, न्युयोर्क
कोरोना भाइरसबाट मृत्यु भएका न्युयोर्कका नेपाली अनिल लिम्बुको दाहसंस्कार अस्पतालले नै गर्ने भएको छ । अस्पतालसंग दाहसंस्कार गर्ने विषयमा परिवारको सहमतिमा सम्झौता भएको नेपाल आदिवासी जनजाती महासंघ अमेरिका फिप्नाका अध्यक्ष लोक चेम्जोङले दूरबिन नेपाललाई बताए । कोरोना भाइरसको संक्रमणका कारण दाहसंस्कारमा परिवारका सदस्य तथा अन्य व्यक्तिको उपश्थिती नहुनेगरी सम्झौता भएको अध्यक्ष चेम्जोङले जनाए । अस्पतालले केही मापदण्ड अपनाएर परिवारका सदस्यलाईपनि दाहसंस्कारमा सहभागी हुन दिने भएपनि लिम्बु परिवारका केही सदस्यहरुपनि बिरामी भएका कारण दाहसंस्कारको सबै जिम्मा अस्पताललाई नै दिइएको जनाइएको छ । अस्पतालले अहिले दाहसंस्कार गरेपनि पछि धार्मिक विधि अनुसार काजक्रिया गरिने परिवार श्रोतले जनाएको छ । अस्पतालको नियमानुसार मृत्यु भएको ७२ घण्टापछि मात्र दाहसंस्कार गर्न पाइन्छ । एक हप्तादेखि एल्महस्र्ट अस्पतालमा उपचाररत अनिल लिम्बुको गत मंगलबार निधन भएको थियो । उहांका दुई छोरा एक छोरी र श्रीमती छन । नेपालको पाँचथर जिल्लाका लिम्बु १५ बर्ष भन्दा लामो समयदेखि परिवार सहित न्युयोर्कमा बस्दै आएका थिए ।


१५ चैत्र २०७६, शनिबार १७:१२ मा प्रकाशित