राष्ट्रिय चिकित्सा प्रयोगशालाकर्मी संघमा अकेला

दूरबिन नेपाल     २७ माघ २०७४, शनिबार १५:५८ | २५ पटक पढिएको

ललितपुर, २७ माघ/ राष्ट्रिय चिकित्सा प्रयोगशालाकर्मी संघको पहिलो राष्ट्रिय अधिवेशनले गोविन्द अकेला पौडेलको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।

आज यहाँ आयोजना भएको कार्यक्रममा बोल्दै नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रयोगशाला पनि गुणस्तरीय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “प्रयोगशाला गुणस्तरीय बनाउन प्राविधिक नै कस्सिएर लाग्नुपर्ने खाँचो छ ।” स्वास्थ्य सेवामा सुधार गर्नुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो ।

पूर्व स्वास्थ्य मन्त्री वंशिधर मिश्रले प्रयोगशाला गुणस्तरीय बनाउन सबै प्रयोगशालाकर्मी लाग्नुपर्ने बताउनुभयो ।

नेकपा (एमाले)का स्वास्थ्य विभाग प्रमुख सुजिता शाक्यले चिकित्सा प्रयोगशालाको क्षेत्रमा नीति निर्माणका लागि मार्गचित्र बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष पौडेलले देशभर छरिएर रहेका चिकित्सा प्रयोगशालाकर्मीलाई एक बनाएर लाने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “प्रयोगशालालाई खोजमूलक र शिक्षामूलक बनाउन हामी लाग्नेछौँ ।” प्रयोगशाला गुणस्तरीय बनाउनका लागि विभिन्न कार्यक्रम गर्ने योजना उहाँले सुनाउनुभयो ।

अधिवेशनमा सहभागी हुनका लागि देशभरका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत प्रयोगशालाकर्मी उपस्थित भएका छन् । रासस


२७ माघ २०७४, शनिबार १५:५८ मा प्रकाशित