अमेरिकाका प्रमुख सहरमा पशुपतिनाथको पूजा लस एन्जलस स्थित पशुपतिनाथ मन्दिरमा प्राण प्रतिष्ठा पूजा शुरु

दूरबिन नेपाल     २८ माघ २०७४, आईतवार १६:२७ | २७८ पटक पढिएको

लस एन्जल्स, ११ फेब्रुअरी

प्रवासमा रहेका नेपालीहरूले स्थापना गरेको ठुलो लगानीको लस एन्जलस स्थित पशुपतिनाथ मन्दिरमा प्राण प्रतिष्ठा पूजा आइतबार बिहानबाट शुरु भएको छ । आइतबारको पूजा दिउसो तीन बजेसम्म चल्नेछ । पूजा तीन दिनसम्म लगातार चल्नेछ । बुद्धको मूर्तीको विशेष पूजा फेब्रुअरी १२ को साँझ ६ देखि ८ बजे सम्म हुने योजना रहेको छ । स्वयसेवकहरु बिहानैदेखि पूजालाई व्यवस्थितरुपमा सम्पन्न गराउन सक्रिय पूर्वक खटिरहेका छन् । पूजामा नेपाली समुदाय लगायत भारतीयहरूको समेत उपस्थिति रहेको छ ।

शिवरात्रीको अवसरमा अमेरिकाका अरु प्रमुख सहरहरुमा रहेका पशुपतिनाथको मन्दिरमा पूजाको विशेष तयारी भइरहेको छ । नेपालीहरुको बाक्लो बस्ति भएका सहरहरु लसएन्जलस, डालास र ह्युष्टनमा रहेका पशुपतिनाथका मन्दिरमा पूजाको तयारी भइरहेका आयोजकहरुले बताएका छन् । अमेरिकामा रहेका नेपालीहरुको सवै भन्दा ठूलो लगानी अर्थात १५ करोड रुपैयाँमा पशुपति मन्दिरको निर्माण संपन्न भएको हो । यस अघि नै निर्माण संपन्न भइसकेको डालसको पशुपतिनाथ मन्दिरमा पनि शिवरात्री विषेश पूजा हुँदै छ । त्यस्तै टेक्सासको ह्यूष्टन र न्यूयोर्कमा पनि पशुपतिनाथ मन्दिर निर्माणको क्रममा छ । अमेरिकाका प्राय सवै ठुला सहरमा यस वर्ष शिवरात्री विषेश पूजा गरिने भएको छ । यी मन्दिरहरु नेपालीहरुले आफ्नै श्रम,शक्ति र लागानीमा निर्माण गरेका हुन् ।


२८ माघ २०७४, आईतवार १६:२७ मा प्रकाशित