प्रवासका नेपाली मन्दिरहरुमा महाशिवरात्रि पर्वको रौनकता

दूरबिन नेपाल     २९ माघ २०७४, सोमबार १६:०२ | ५३२ पटक पढिएको

टेक्ससको ह्यु्स्टनमा यतिबेला नेपाली समुदायका अगुवा, सामाजिक कार्यकर्ता लगाएत शुभचिन्तकहरुलाई भ्याइनभ्याई भैरहेको छ। यो भ्याइनभ्याईको कारण नेपालीहरुले गत अक्टुबर २६, २०१७ मा कृष्णप्रणामी फाउण्डेसनसंग ३ लाख ५० हजार डलर अर्थात करीब ३ करोड ६३ लाख नेपाली रूपैंयाँमा खरीद गरिएको ८.२ एकड (करीब ६५ रोपनी) क्षेत्रफलमा फैलिएको मन्दिरमा पहिलो पटक गर्न लागिएको महाशिवरात्रि पूजाको तैयारीको लागि भएको हो। नेप्लिज एशोसियसन अफ ह्युस्टन र मन्दिर व्वस्थापनका तर्फबाट आव्हान गरिए अनुसार नेपाली समुदायका अगुवाहरु दिनकर अमात्य, मधुकर अमात्य, विष्णु नेपाल, द्रोण गौतम, विजय बोखिम, चन्द्रकान्त शर्मा, भिष्म मरासिनी लगाएतका दर्जनौं व्यक्तिहरु मन्दिर परिसर सरसफाईमा जुटेका थिए। केटाकेटीहरु समेत आफ्ना अभिभावकसंगै सामुदायिक सेवाका लागि जम्मा भएका थिए। कठ्यांग्रिने जाडोको समेत वास्ता नगरेर नेपालीहरु आफ्नो मन्दिर परिसरमा सरसफाई, रंग-रोगन र पुराना संरचनाहरुको मर्मत-संभारमा जुटिरहेका थिए।

प्रवासमा नेपाली समुदायको आफ्नोपन भने कै मन्दिर निर्माण लगाएतका आ-आफ्ना सांस्कृतिक चाडबाडहरुमा हुने जमघटहरुमा देख्न पाइने हो। यो साता नेपालीहरुको आफ्नै मन्दिर भैसकेका शहरहरु टेक्ससको डालास र ह्युस्टन अनि क्यालिफोर्नियाको लस एन्जलस स्थित पशुपति तथा बुद्ध मन्दिरमा भैरहेको महाशिवरात्रि पूजा तैयारी विशेषरुपले भैरहेको समाचार आइरहेका छन्। लस एन्जलसको पशुपति बुद्ध मन्दिरमा त यो पटक मन्दिरको प्राण-प्रतिष्ठा पूजा सहितको औपचारिक पूजा-अर्चना गरेर धुमधामकासाथ शिवरात्रि पर्व मनाउने तैयारी भैरहेको जानकारी स्थानीय आयोजकहरुबाट प्राप्त भएको छ। यो पूजापश्चात लस एन्जलसको नेपाली मन्दिर निर्माण कार्यले पूर्ण सफलता पाएको पशुपति बुद्ध फाउण्डेशनका अध्यक्ष भक्त थापाले जानकारी गराए।


२९ माघ २०७४, सोमबार १६:०२ मा प्रकाशित