भारतीय खैंजडी मिडिया र बौद्धिक दरिद्रता नेपाल र नेपालीको मान मर्दनमा भारतीय सञ्चार माध्यम

बद्रि गौतम     ९ जेष्ठ २०७७, शुक्रबार ०३:१४    

भारतीय खैंजडी मिडिया र बौद्धिक दरिद्रता

बद्रि गौतम, दूरबिन नेपाल, अमेरिका

“खाती भारतकी, कमाती भारतमे फिर समर्थन नेपालकी करती है ?” भारतीय मिडियाको यो तुच्छ अभिव्यक्ति  प्रशिद्ध अभिनेत्री मनिषा कोइराला विरुद्ध लक्षित छ । यो अशोभनीय र हेपाहा अभिव्यक्ति यदि कसैको हुन सक्छ भने त्यो भारतीय सञ्चारमाध्यम नै हुन सक्छ भन्ने मानक दक्षिण एशीयामा स्थापित भइसकेको छ । दक्षिण एशीयामा भारत र उसका मिडियाको यो चरित्रले आहत नहुने सायदै होलान । अभिनेत्री मनिषा कोइरालले आफ्नो मुलुकले जारी गरेको नक्साको बारेमा ट्वीट गर्दै सरकारप्रति आभार प्रकट गर्दा भारतीय मिडियामा यस्तो हंगामा भएको हो । प्रसंग मनिषा कोइरालाको ट्वीटबाट जोडेपनि वास्तवमा हामीले भारतीय मिडियाको चरित्रको चर्चा गर्न गइरहेका छौं ।

नेपाल सरकारले आफ्नो मुलुकको वास्तविक राजनीतिक नक्सा जारी गरेपछि सबैभन्दा धेरै चर्चा भारतीय मिडियामा भइरहेको छ । अधिकांश समय पाकिस्तान र त्यहांका जनताको मानमर्दनमा राष्ट्रवाद देख्ने भारतीय मिडिया यतिबेला नेपाल र नेपालीप्रति विष बमन गरिरहेका छन । यो कुनै नौलो कुरा होइन छिमेकी मुलुकका विरुद्धमा बनावटी समाचार बनाउने र आफ्नो सत्ताधारीलाई खुशी पार्ने व्यवसाय भारतीय सञ्चार माध्यमले पहिले देखि नै गर्दै आएका हुन । भारतीय जनता र उनीहरुको समस्याका बारेमा भन्दापनि भारतीय सत्ता र साम्पादायिकताको पक्षमा आफ्नो फजुल समय खर्चिने भारतीय मिडियाले अहिले नयाँ बिजनेस पाएका छन ।

ऐतिहासिक तथ्यका आधारमा नेपालले जारी गरेको नेपालको राजनतिक नक्साका बिषयमा नेपाल र नेपालीप्रति अपमानजनक सामग्री तयार गर्नु यतिबेला भारतीय मिडियाको नयाँ खेती नै बनेको छ । स्थलगत, वस्तुगत र वास्तविकताको धरातलभन्दा पनि सत्ताधारीको इच्छामा समाचार बनाएर टेलिभजनको पर्दामा चिच्याउनुलाई पत्रकारीताको महान कर्म सम्झने भारतीय सञ्चारमाध्यमका आइकनहरुलाई आफ्नै मुलुकको इतिहासको जानकारी छैन भने छिमेकी मुलुकको इतिहास र गौरवबारे ज्ञान हुने कुरै भएन । विशेषगरी भारतीय एउटा समुदायको पक्षमा कोठामा तयार पारीएका समाचारका सामग्री र चुथ्था शब्दबाट चिच्याउने भारतीय टेलिभिजनहरुप्रति स्वयं भारतीय बौद्धिक बर्गपनि आक्रान्त भएको कुरा कसैबाट छिपेको छैन । नेपाल सरकारले जारी गरेको आफ्नो नक्सालाई लिएर भारतीय पक्षले आपत्ती जनाएको विषयमा भारतीय मिडिया यसरी प्रस्तुत भइरहेका छन कि हरेक कुरा भारतलाई सोधेर र अनुमति लिएर मात्र गर्नुपर्छ । भारतीय टेलिभिजनका प्रस्तोता भन्दैछन “नेपालने ऐसा कर्नेका आंट कैसे किया ?” वा नेपालले यस्तो गर्ने आंट कसरी गरेयो ? जस्ता अभिव्यक्तिले जनाउंछ उनीहरु नेपाललाई आफ्नो दास सम्झन्छन । इतिहासमा कसैको दास र कब्जामा नरहेको नेपाललाई भारतीयरुले आफ्नो इच्छा अनुसार चल्नुपर्छ भन्ने सोच्नु मुर्खंतामात्र हो ।

यतिसम्म कि कालापानीको नक्सा समेटिएको विषयलाई लिएर भारतले नेपालसंग आफ्नो सैन्य तुलना गर्ने दरिद्रता समेत देखाएको छ भने आर्थिक र शक्तिको तुलना गरेको छ । भारतीय मिडिया र जानकारहरुलाई ज्ञान हुनुपर्ने हो । निकै कमजोर भियतनामसंग अमेरिका जस्तो शक्तिशाली मुलुक हारेर भाग्नु परेको थियो । उत्तर कोरिया जस्तो सानो र कमजोर मुलुकसंग जापान र कोरीया डराइरहेको वास्तविकतालाई भारतीय मिडियाले बिष्लेषण गर्ने खुबी राख्छन जस्तो लाग्दैन पनि । सिमाकै विषयमा चीनसंगको लज्जास्पद पराजयलाई पनि आफ्नो विरततासंग जोडन खोज्ने भारतीय मिडियाले हुनेखानेको पृष्ठपोषण गर्नुलाई आफ्नो पेशागत धर्म सम्झन्छन भन्ने यसैले देखाउंछ । सत्ताधारीको भजनमा खैंजडी बजाउनुलाई नै आफ्नो धर्म सम्झनेहरुले पाकिस्तानसंग हुने गरेका विवादमा आफ्नो कमजोरीलाई कहिले नदेख्ने कारण समस्या बढेको बढ्यै छ ।

इतिहासको तोडमोड
हो यतिबेला नेपाल कमजोर होला, युद्ध गर्ने अवस्थामा नहोला, अधिकांश वस्तुमा अरुमा निर्भर हुनु पर्ला तर यसको अर्थ अरुको दास हुुनुपर्छ संधै हेपिएर बस्नुपर्छ भने कदापी स्वीकार्य हुंदैन । तर सबै मुलुक संधै शक्तिशाली र सम्पन्न हुंदैन । इतिहास साक्षी छ नेपाल भारतभन्दा धेरै जेठो देश हो । जहां भारत भन्ने नाम सुनिदैनथ्यो नेपाल विश्व मानचित्रमा कोरीइसकेको थियो भारतभन्दा सम्पन्नपनि थियो । जहां भारत इष्ट इण्डिया कम्पनीको नामबाट विश्व मानचित्रमा चिनिदै थियो नेपालले भारतलाई बर्षौसम्म दास बनाउने इष्ट इण्डिया कम्पनीसंग डटेर लडेर आफ्नो अस्तित्व जोगाएको थियो । भुगोलमा सानो होला तर इतिहास र अस्तीत्वमा नेपाल भारत भन्दा उंचो छ । भारतीय उपमहाद्धिपमा अस्तित्वको संघर्ष हुंदापनि नेपालले आफुलाई विश्व मानचित्रमा गौरवशाली रुपमा उभ्याइरहेको इतिहास भारतीय मिडियाले पढ्न जरुरी छ । हो हाम्रो भौगोलिक अवस्था र कहिलेकांही शासकहरु चुकेका कारण नेपाल कमजोर भएर खुम्चिएको होला, तर नेपाल र नेपालीलाई भारतीय मिडियाले राष्ट्रवाद भाइचारा सिकाउनु पर्दैन । हिन्दुत्वमा राष्ट्रवाद देख्ने भारतीय जस्तो नेपाली पहिचान अब कुनै जाती तथा धर्मका आधारमा कोरीएको छैन । भारतमा रोगजारी गरेकै आधारमा भारतको गुलाम हुनुपर्छ भन्ने भारतीय मिडियाको तर्क दास मनोबृत्तिको उपज बाहेक केही हुन सक्दैन । नेपालको जनसंख्या भन्दा धेरै भारतीयहरु अझै बाटोमा मागेर गुजारा चलाउंछन भन्ने जस्तो सत्य भारतीय मिडियाले वास्ता गर्दैनन । आम भारतीयले भोगेको समस्यामा भन्दा धेरै छिमेकी मुलक र स्वाभीमानी जनताको मान मर्दन गरी सत्ताको भजन गाउने भारतीय मिडियाको बौद्धिक दरिद्रता कसैबाट लुकेको छैन ।

बौद्धिक दरिद्रता
सन २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ कार्यक्रममा भाग लिन गएका नेपालका प्रधानमन्त्री शुसील कोइरालालाई नेपालका राष्ट्रपति भनेर सम्बोधन गर्ने भारतीय सञ्चार माध्यमले भुटानका प्रधानमन्त्रीलाईपनि राष्ट्रपति भन्दै फ्ल्यास समाचार बनाएका थिए । यि त केही उदाहरणमात्र हुन, दक्षिण एशीयाको मात्र होइन संसारकै मिडियाको बिंडो आफुले धानेको डंका पिट्नेहरुले कम से कम आफ्नो मुलुकसंग सिमा जोडिएको छिमेकमा प्रधानमन्त्री तथा राष्ट्रपति को छ भन्ने हेक्का नराख्नेहरुबाट कसरी बौद्धिकता र सत्य तथ्य समाचारको अपेक्षा गर्न सकिएला ? छिमेकी मुलुक र त्यहांका जनताको मानमर्दन गरी समाचार प्रशारण गरेपछि राष्ट्रियता बलियो भएको भ्रम छर्ने भारतीय मिडियाकर्मीले अरुलाई इतिहास सिकाउनु पाच्य विषय हुनै सक्दैन ।
नेपालले आफ्नो वास्तविक नक्सा जारी गरेपछि पनि भारतीय सञ्चार माध्यमहरु इतिहासलाई गलत व्याख्या गरीरहेका छन । इतिहास साक्षी छ र तथ्यहरुले पनि पुष्टि गरेका छन कि भारतको लखनउ बिद्रोह साम्य पार्न राणा नियन्त्रित नेपाली सेनाले इष्ट इण्डिया कम्पनीलाई सघाएपछि अंग्रेज सरकारले खुशी भएर सुगौली सन्धीमा गुमेका बांके बर्दिया कैलाली कञ्चनपुर नेपाललाई फिर्ता गरेका थिए । नेपालका ती चार जिल्लाहरुलाई पछि पनि नयाँ मुलक भनेर चिनीयो । अहिले सोही तथ्यलाई भारतीय मिडियाले बङ्ग्याउदै लखनउ विद्रोह दवाएवापत नेपालाई सिताको जन्मभुमि जनकपुर फिर्ता दिएको डंका पीटिरहेका छन । यसलेपनि देखाउंछ भारतीय सञ्चार माध्यमहरुको बौद्धिक शुन्यता ।

त्यस्तै नेपालमा सन २०१५ मा भुकम्प गएपछि नेपाल भित्रिएका भारतीय मिडियाले यति बकवास समाचार दिएकी बाध्य भएर नेपाली जनताले गो ब्याक इण्डियन मिडिया ट्रेण्डिङ ल्याउन बाध्य भए । सोही बेला भारतीय बौद्धिकहरुले भारतीय मिडियाको रवैयाको आलोचना गर्दै भनेका थिए । भारतीयहरु दिनदिनै उनका मिडियाबाट पीडित भइरहेको अभिव्यक्ति दिएका थिए । नेपाल विरुद्ध बेला बेलामा खनिने भारतीय शासकबाट पृष्ठपोषित सञ्चारकर्मीहरुका अशोभनीय गाली पाकिस्तान र त्यहांका जनताले कसरी सहीरहेका होलान ? हामी अनुमानमात्र गर्न सक्छौं ।
आफुले बुझेको र सुनेको मात्रै सत्य हो भनेर चिच्याउनु भारतीय सञ्चार माध्यमको परिचय बनेको छ । अध्ययन र तथ्यविनाको तर्क पेश गरेर असत्यलाई जबरजस्ती सत्य बनाउने कोशिष गर्ने गरेका छन । सच्चा देशभक्तले मुलुकलाई विवादतर्फ धकेल्ने होइन समस्या समाधानमा पो सघाउनु पर्ने हो तर भारतीय सञ्चार माध्यमहरु भने ठिक विपरित बाटोमा हिंडिरहेका छन ।


९ जेष्ठ २०७७, शुक्रबार ०३:१४ मा प्रकाशित