महाशिवरात्रिका अवसरमा नागेश्वर,शम्भुनाथ र वाणेश्वरमा भीड

दूरबिन नेपाल     १ फाल्गुन २०७४, मंगलवार ०६:०० | ४१ पटक पढिएको

काठमाडौँ, १ फागुन । महाशिवरात्रिका अवसरमा कामपा–३२, पेप्सीकोला टाउन प्लानिङस्थित नागेश्वर र बालाजु गोलढुङ्गास्थित वाणेश्वरमा आज बिहानैदेखि भीड लागेको छ ।
सो शिवालयमा भारतीय साधुहरुको पनि सहभागिता रहेको नागेश्वर तथा वाणेश्वर महादेव व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले बताउनुभयो । तीन सय वर्ष पुरानो नागेश्वर(गर्ग ऋषिले तपस्या गरेको स्थल)मा दर्शन गर्नाले कालसर्प दोष र मुद्दामामिलाजस्ता झण्झट हट्ने तथा वाणेश्वर(पुरानो मृगस्थली पनि भनिने वाणासुरले तपस्या गरेको स्थल) मा दर्शन गर्नाले आसुरी प्रवृत्ति हट्ने मान्यता रहेको बताउनुभयो । नागेश्वर तीन सय वर्ष र वाणेश्वर वर्ष पुरानो मन्दिर मानिन्छन् ।
शम्भुनाथ मन्दिरमा भीड
हिन्दूको महान् पर्व शिवरात्रिका अवसरमा जिल्लाका शिवालयमा आज बिहानैदेखि हिन्दूधर्मालम्बीको भीड लागेको छ ।

शम्भुनाथ नगरपालिकास्थित ऐतिहासिक एवं पुरातात्विक महत्वको शम्भुनाथ महादेव मन्दिरमा पनिआज बिहानैदेखि पूजार्चनाका लागि भीड लागेको छ । आज बिहान ४ बजेदेखि फूलमाला, बेलपत्र, धतुरो, मिष्ठान्न तथा फलफूलसहित रंगीचंगी लुगा लगाई महिला, पुरुष, बालबालिका र वृद्धवृद्धा शम्भुनाथ मन्दिरमा दर्शनका लागि लामबद्ध छन् ।

विभिन्न ध्वजापताकाले सिँगारिएको सो मन्दिरमा दर्शनका लागि सप्तरी, सिरहा तथा भारतको विहार राज्यका सुपौल र मधुवनी जिल्लालगायत शहरी तथा ग्रामीण क्षेत्रका धर्मावलम्बी आज बिहानै सहभागी भएका छन्।

त्यस्तै राजविराज नगरपालिका-१ मा रहेको शिव मन्दिर, महदेवा गाउँपालिकास्थित शिव मन्दिर, हनुमानगर कंकालनी नगरपालिका – २ मा रहेको महादेव मन्दिर तथा कञ्चनरुप नगरपालिकाको बलुवामा रहेको शिव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।रासस


१ फाल्गुन २०७४, मंगलवार ०६:०० मा प्रकाशित