समुद्री सतह निरन्तर बढ्दै वातावरण परिवर्तन र तापमान बृद्धी मुख्य कारण, तटीय शहरका बासिन्दाहरु खतरामा

दूरबिन नेपाल     १ फाल्गुन २०७४, मंगलवार १९:२५ | २५० पटक पढिएको

अमेरिकी सरकारलाई विज्ञान र प्रविधीको क्षेत्रमा महत्वपूर्ण सूचनाहरु प्रदान गर्ने अमेरिकी वैज्ञानिकहरुको संस्था नेशनल एकेडमी अफ साइन्सेज (एनएएस) ले १९९३ देखि भू-उपग्रको सहयोगले शुरु गरेको अध्ययन अनुसार गएको २५ वर्षमा समुद्रमा पानीको सतहमा करीब २ इन्चले बृद्धी भएको जनाइएको छ। वातावरणीय परिवर्तनको निकै नराम्रो प्रभावबाट उब्जिएको यो समस्यालाई समय मै विश्व समुदायले ध्यान नदिने हो भने यो शताब्दीको अन्त्यसम्ममा समुद्री सतह अरु दुईफिट बढ्ने अनुमान गरिएको छ। यस्तो परिस्थिति आएको खण्डमा समुद्रको नजिक रहेका कैयन शहरहरुको अस्तित्व नै संकटमा पर्न सक्ने चेतावनी दिंदै एनएएसले समुद्रको छेउछाउ बसोबास गर्ने संसारभरीका मानिसहरुलाई सजग रहन भनेको छ। समुद्री टापुहरुको देश ‘माल्दिभ्स’ सबभन्दा बढी जोखिममा रहेको छ र यो क्रमले पानीको सतह बढीरहेमा अबको केही बर्षहरुमा उसको अस्तित्व समुद्रमा बिलाउने निश्चित जस्तै छ।

सन् १८६३, मार्च ३ का दिन अमेरिकी कंग्रेसद्धारा पारित र तत्कालिन राष्ट्रपति अब्राहम लिंकनले हस्ताक्षर गरेको विधेयक बमोजिम स्थापित एनएएस संसार कै प्रतिष्ठित वैज्ञानिकहरुको संस्था हो। हालसम्म यसका करीब ५०० जना वैज्ञानिकहरु प्रतिष्ठित नोवेल पुरस्कारबाट सम्मानित भइसकेका छन्। ग्रिनल्याण्ड, अन्टार्टिका लगाएत हिंउँले ढाकिएका क्षेत्रहरुमा विश्व तापमान बृद्धीका कारण हिउँ पग्लने क्रम बढ्दै गर्दा समुद्रमा पानीको सतह पनि बर्षेनी बढिरहेको वैज्ञानिकहरुले बताएका छन्।

संसारभर वर्षेनी आइरहेको प्राकृतिक बिपत्तीहरु पनि यही वातावरणीय परिवर्तन र विश्व तापमान बृद्धीले गर्दा भइरहेको अध्ययनहरुबाट पत्ता लागिसकेको छ। समुद्री सतह बृद्दी, सामुद्रिक आँधी (हर्रिकेन), बाढी-पहिरो, सुख्खा-खडेरी, आगलागी लगाएतका अनेकौं प्राकृतिक बिपत्तीको कारण वातावरणीय परिवर्तन हो भनेर अमेरिका लगाएतका विकसित मुलुकहरुले जति छिटो बुझ्छन्, त्यति नै छिटो वातावरणीय परिवर्तनको न्यूनिकरणका कामहरु हुनेछन्। वातावरण परिवर्तनको मामिलालाई वेवास्ता गरिरहेको ट्रम्प प्रशासनको वर्तमान नीति र एप्रिल २२, २०१६ मा हस्ताक्षर भएर नोभेम्वर ४, २०१६ बाट लागू भएको पेरिस सम्झौक्ताबाट पछि हट्ने घोषणाले वातावरण परिवर्तनका क्षेत्रमा विकसित देशहरुले आशा गरिरहेको नतिजा पाउन निकै कठिन हुने विज्ञहरुले जनाएका छन्।


तस्वीर: फिचर- एसाथ एडम/ गेटी ईमेज
1. सिएनएन
2. ड्यू नालिओ चेरी/ एपी
3. ड्रिम्सटाइम
4. स्यामराट ३५/ ड्रिम्सटाइम
5. जोश इडिल्सन/एअफपी


१ फाल्गुन २०७४, मंगलवार १९:२५ मा प्रकाशित