पुरुष भलिबल प्रतियोगिताको उपाधि सेनालाई

दूरबिन नेपाल     २ फाल्गुन २०७४, बुधबार १५:११ | १५ पटक पढिएको

दार्चुला, २ फागुन/ महाशिवरात्रि पर्वको अवसरमा सञ्चालित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि दार्चुलास्थित नेपाली सेनाको दुर्गादल गुल्मले हात पारेको छ ।

आज सम्पन्न फाइनल खेलमा दुर्गादल गुल्मले आदर्श समाज सुन्सेरालाई ३–०को सोझो सेटमा २५–१३, २५–२१ र २५–१६ को सेटमा पराजित गर्दै प्रतियोगिताको विजेता बनेको हो । यसअघि भएका दुई सेमिफाइनल खेलमा दुर्गादल गुल्म दार्चुलाले हुस्कर मावि काटैलाई पनि ३–० को सोझो सेट र आदर्श समज सुन्सेराले नेपाल पत्रकार महासंघ दार्चुलालाई ३–२ को सेटमा हराउँदै फाइनलमा प्रवेश गरेका थिए ।

खेल क्षेत्रका प्रतिभालाई उजागर गर्ने उद्देश्यले महाशिवरात्रि २०७४ को अवसर पारी भलिबल प्रतियोगिताको आयोजना गरिएकामा भव्यताका साथ सम्पन्न भएको महाकाली नगरपालिका वडा नं ४ का अध्यक्ष तथा संयोजक पुष्करराज जोशीले बताउनुभयो ।

विजेता दुर्गादल गुल्मलाई नगद रु नौ हजार ९९९ सहित सिल्ड, मेडल र प्रमाणपत्र र उपविजेता आदर्श समाज सुन्सेरालाई रु पाँच हजार ५५५ सहित सिल्ड, मेडल र प्रमाणपत्र र मेडल प्रदान गरिएको र तेस्रो हुने नेपाल पत्रकार महासंघ दार्चुलालाई प्रमाणपत्र र मेडल प्रदान गरिएको छ ।

महाकाली नगरपालिकाले खेल क्षेत्रको विकासका लागि भलिबल प्रतियोगिता संचालन गरी विकटता र दुर्गम क्षेत्रमा लोकप्रिय खेलका रुपमा रहेकाले पनि उल्लेख्य जनसहभागिता रहेको जिल्ला समन्वय समितिका संयोजक करवीरबहादुर कार्कीले बताउनुभयो ।

प्रतियोगितामा विजयीलाई पुरस्कार वितरण गर्दै महाकाली नगरपालिकाका उपप्रमुख सुना बोहराले खेल स्वास्थ्य र राष्ट्र दुवैका लागि महत्वपूर्ण भएकाले खेलाडीलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नारायण दाहालले जिल्लामा छिट्टै आयोजना हुने राष्ट्रति रनिङ सिल्ड प्रतियोगितामा भाग लिने गरी आफ्नो प्रतिभा देखाउन खेलाडी सफल भएको बताउनुभयो ।रासस


२ फाल्गुन २०७४, बुधबार १५:११ मा प्रकाशित