मिथिला परिक्रमा शुरु

अजयकुमार साह     २ फाल्गुन २०७४, बुधबार १५:२६ | २० पटक पढिएको

महेन्द्रनगर, धनुषा, २ फागुन/ विश्वकै लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा आजदेखि विधिवत् रुपमा शुरु भएको छ । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ ।

एक सय ३३ किलोमिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो संख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुको सहभागिता रहने गरेको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी भगवान् रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत् रुपमा शुरु भएको हो ।

फागुन कृष्णपक्षको आँैसीमा धनुषाको ठेरा कचुरी मठबाट भगवान् राम र जानकीको डोलासहित परिक्रमा शुरु भएको हो । आज राति धनुषाको हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधुसन्त तथा श्रद्धालु भोलि बिहीबार बिहान पूजापाठ गरी भारतको विहार राज्यस्थित कल्याणेश्वरका लागि प्रस्थान गर्नेछन् । फागुन औँसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिला विहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवत् रुपमा शुरुआत हुने परम्परा रहेको रत्नसागर मन्दिरका महन्थ वैकुण्ठ दास वैष्णवले बताउनुभयो ।

महाशिवरात्रिलगत्तै शुरु भएको मिथिलाको सर्वाधिक लोकप्रिय १५ दिने माध्यमिक परिक्रमाका कारण मिथिलाञ्चलमा यसपालाको फागुन महिना उल्लास एवं भक्तिमय हुने भएको छ । धार्मिक झाँकी भजन कीर्तनसहित परिक्रमाको डोला आज जनकपुरबाट शुरु भई सीमावर्ती भारतीय गाउँ कलानेश्वर महादेव स्थान पुग्नेछ । परिक्रमामा सहभागीहरु क्रमशः फूलहरको गिर्जास्थान हँुदै महोत्तरीको मटिहानी, जलेश्वर मडै धु्रवकुण्ड, कन्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कलानेश्वर र फागुन पूर्णिमाको जनकपुर फर्कनेछ । मिथिला विहारीको नेतृत्वमा पारम्परिक रुपले यो परिक्रमा आयोजना हुँदै आएको छ । हजाराँैको सहभागिता रहने यस धार्मिक यात्रालाई व्यावसायिक रुप दिन नसक्नु सरकारको कमजोरी रहेको लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्थ जग्गनाथ दास वैष्णवले बताउनुभयो ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले सहभागीहरुको सुविधाका लागि पन्ध्रवटै विश्रामस्थलमा बिजुली, खानेपानी लगायतको व्यवस्था मिलाएको छ । परिक्रमावासी राति गाउँभन्दा टाढा खुला चौर, बगैँचा वा पोखरीको डिलमा विश्राम गर्छन् । स्थानीय बासिन्दाले पनि सहभागीका लागि अन्न, दाउरा तथा परिक्रमामा सहभागी गोरुका लागि परालसमेत उपलब्ध गराउने गर्दछन् । सहभागीहरु दिनभरि यात्रा गर्छन् र भजनकीर्तन तथा सत्संग गरेर रात बिताउँछन् ।

नेपाल र भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राको नेपालको धनुषा र महोत्तरीको १३ तथा भारतको दुई गरी १५ विश्रामस्थल छन् । मिथिला महात्म्यमा यी विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे छुट्टाछुट्टै प्रकाश पारिएकाले यी स्थलप्रति भक्तजनमा अटूट आस्था रहेको पाइन्छ । मिथिला महात्म्यअनुसार १८औँ शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आइएको हो । यस यात्राका सहयात्रीले नेपालका १०७ एवं भारतको २६ गरी १३३ किलोमिटर भूमिका पैदलयात्रा तय गर्ने परम्परा रहेको छ । परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभंगहा, सीतामढी, बैजनाथधामका साधुहरु उल्लेख्य रुपमा सहभागिता हुने गर्दछन् ।

परिक्रमामा सहभागी हुनाले मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने तथा मोक्ष प्राप्ति हुने धार्मिक मान्यता रहेको पण्डित लालबाबु झाले बताउँछन् । प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा स्थापना भएका चार शिवालय कलानेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ । गृहस्थाश्रमदेखि साधुसन्तसम्मको विशाल सहभागिता रहेको यस यात्राका सबै सहभागीलाई यसको महत्वबारे जानकारी नभए पनि उनीहरु उत्साहका साथ यस पर्वमा सहभागी हुने गर्दछन् ।

मिथिला महात्म्यमा माध्यमिकी परिक्रमा गर्न नसक्नेहरुले छोटो दूरीको अन्तःगृह परिक्रमा गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । अन्तःगृह परिक्रमाको सीमा क्षेत्र जनकपुर नगरपालिकाभित्र पर्दछ । मिथिला महात्म्यमा हरिहर क्षेत्रबाट प्रारम्भ भई गण्डकी नदीको किनार हँुदै हिमालय क्षेत्र, कोशी नदी भएर पुनः हरिहर क्षेत्रमा समापन हुने बृहत् परिक्रमाको चर्चा गरिएको छ । भारतको पटनास्थित गंगा नदीको तटमा हरिहर क्षेत्र अवस्थित छ । तर यो परिक्रमा अचेल सधुसन्तको सीमित संख्याले मात्र गर्ने गरेको कुरा जानकी मन्दिर जनकपुरका महन्थ तपेश्वर दासले बताउनुभयो । बृहत् माध्यमिकी र अन्तःगृह परिक्रमा मंसिर, माघ, फागुन र वैशाख महिनामा गर्नसक्ने वैदिक मान्यता भए पनि ती परिक्रमा फागुन महिनामै हुने परम्परा रहेको महन्थ दासले बताउनुभयो ।

केही दशकयता माध्यमिकी परिक्रमाको क्षेत्र र अवधि विस्तारित भए पनि जनकपुरस्थित रत्नसागर स्थानका स्व. महन्त बाबा नारायण दासजीले करिब १५० वर्षपूर्वदेखि २०० वर्षसम्म साधुसन्तलाई लिएर वनजंगलको बाटो भएर माध्यमिकी परिक्रमालाई मिथिला महात्म्यको निर्देशअनुसार प्रारम्भ गरेको बताइन्छ । त्यसलाई करिब पचास वर्षपछि स्थानीय सीताकुण्डका महन्त परमहंस सियालाल शरणले पाँचसय साधु तथा बाजागाजासहित परिक्रमा गरेका थिए । पाँचसयको सानो संख्यालाई बढाएर २० हजार पु¥याई परिक्रमाको महत्व बढाउने तथा वैष्णव सम्प्रदायको प्रवद्र्धनमा महन्त परमंहसको उल्लेखनीय योगदान रहेको लक्ष्मीनारायण मठ मटिहानीका मान महन्थ जग्गनाथ दास वैष्णवले बताउनुभयो ।

माध्यमिकी परिक्रमामा करिब साठी वर्षअघिदेखि मिथिला महात्म्यको कथा वाचन गर्ने मुख्य पण्डित रामदुलारी शरणजी महाराजले ७० वर्षसम्म उक्त भूमिका निर्वाह गरेर सो परिक्रमाको धार्मिकीकरण गर्नुभयो । उहाँको निधनपछि मिथिला महात्म्यको कथा वाचन गर्ने काम उहाँका शिष्य सियाराघव शरणले गरिरहनुभएको छ । मिथिलाञ्चालको सांस्कृतिक धरोहरका रुपमा रहेको परिक्रमा यात्रीले प्रयोग गर्ने सडकमार्गको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् जनकपुर तथा सडक डिभिजन कार्यालय मुजेलियाले परिक्रमा सडक भनेर निर्माण कार्य थालेका छन् । पहिलो चरणको निर्माण कार्यअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको पकडियादेखि महोत्तरीको हरिहरपुर हरिणमरीसम्म कालोपत्र सडक निर्माण भइसकेको छ ।

यस्तो छ परिक्रमा पथ

पहिलो दिन : फागुन औँसीका दिन जनकपुरबाट प्रारम्भ हुने परिक्रमाको पहिलो बिसौनी हनुमान नगर (कुवा) हो । जनकपुरधामबाट दुई किलोमिटर दक्षिणमा पर्ने यो ठाउँमा हनुमान, राम तथा जानकीका मूर्तिहरु भएको १६० वर्षअघि स्थापित मन्दिर छ ।

दोस्रो दिन : दोस्रो दिनको मेला लाग्ने कलाणेश्वर भारत उत्तर विहारको बासोपट्टि तथा उमाकुण्डको सानो बस्ती नजिकै छ । भव्य कुण्ड तथा विश्रामालयसमेत रहेको कलाणेश्वर (कलना) निकै आकर्षक एवं मनमोहक छ । भविष्यवेत्ताका रुपमा नाम कमाएर प्रसिद्ध सिद्धबाबा ११० वर्ष बसेको ठाउँ पनि यही हो ।

तेस्रो दिन : तेस्रो दिनको विश्रामस्थल गिरिजास्थान पनि भारतमै पर्छ । स्थानीयस्तरमा फूलहर नामले चिनिने यो ठाउँमा सीताजीले फूल टिपेर गिरिजा भगवतीको पूजा गर्ने गरेको र त्यही क्रममा भगवान् रामसँग पहिलो देखादेख भएको जनविश्वास छ । गौरीशंकर, जानकी, गिरिजा भगवती र गणेशका मूर्तिहरु एवं कप्टहारिणी र शरसमिर पोखरीहरु भएको यो ठाउँबाट जमुनी नदी बगेको छ ।

चौथो दिन : यस दिन परिक्रमाका यात्रीहरु नेपालको मटिहानी आइपुग्छन् । महोत्तरी जिल्लामा पर्ने मटिहानी पुरातात्विक महत्वका १२ मन्दिर तथा आठवटा पोखरी भएको घना बस्ती हो । नेपालमा संस्कृतको पढाइ हुने ठाउँका रुपमा परिचित मटिहानीमा एउटा पुरानो संस्कृत महाविद्यालय तथा अरु मठहरु छन् ।

पाँचौँ दिन : मिथिला परिक्रमाका यात्रीहरु यस दिन जलेश्वरनाथ महादेवको दर्शन गर्न महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर आइपुग्छन् । जलेश्वरनाथको मन्दिरको शिवलिङ्ग सधैँभरि जलमै डुबेको हुन्छ ।

छैटौँ दिन : यस दिन यात्रीहरु जलेश्वरबाट मडई आइपुग्छन् । यहाँ मुनेश्वर महादेवको मन्दिर तथा दुईवटा आकर्षक पोखरी छन् ।

सातौँ दिन : सातौँ दिनको विश्रामस्थल धु्रव कुण्ड हो । यहाँ धु्रवजीको मन्दिर छ ।

आठौँ दिन : यात्रीहरुको आठौँ दिनको गन्तव्य कञ्चनवन हरिणमरी तथा हरिशपुर नजिकै पर्छ । यहाँ सीतारामको मन्दिर छ ।

नवौँ दिन : यस दिनको विश्रामस्थल पर्वता हो । यहाँ हनुमानजीको विशाल मन्दिर छ । पर्वता पुग्नुपूर्व भक्तजनले हरिहरपुरस्थित क्षीरेश्वरनाथ महादेव स्थानमा पूजाअर्चना गर्छन् ।

दशौँ दिन : यस दिन यात्रीहरु धनुषाधाम आइपुग्छन् । सीताजीसँग स्वयम्बर हुनुअघि भगवान् रामले भाँचेको धनुषका एक टुक्रा यहाँ खसेको विश्वास गरिन्छ । यो ठाउँ धनुष दर्शनका लागि प्रख्यात छ । विवाह पञ्चमी तथा रामनवमीका बेला पनि ठूलो मेला लाग्ने धनुषाधामस्थित पोखरी, वाणगंगा नदी एवं उत्तरपट्टि करिब पाँच सय बिघामा फैलिएको घना वन क्षेत्रले यो ठाउँलाई विशेष रमणीय बनाएको छ । यहाँ माघ महिनाको प्रत्येक आइतबार मकर मेला लाग्छ ।

एघारौँ दिन : यात्रीहरुको एघारौँ दिनको गन्तव्य सतोषर हो । राममन्दिर र पोखरी रहेको यो ठाउँमा असार साउन महिनामा बोलबम तथा झूला पर्व पनि मनाइन्छ ।

बाह्रौँ दिन : यात्रीहरुको बाह्रौँ दिनको गन्तव्य औरही हो । जनकपुर–जयनगर रेल्वेको तेस्रो विसौनी वैदेही नजिकै रहेको औरहीमा भक्तजन कमला नदीमा स्नान गरी रामजानकी मन्दिरको दर्शन गर्छन् ।

तेह्रौँ दिन : भारतको विशौल परिक्रमा यात्रीको तेहौँ दिनको गन्तव्य हो ।

चौधौँ दिन : चौधौँ दिन परिक्रमा यात्री करुणा भन्ने स्थानमा आइपुग्छन् । यो कलाणेश्वर नजिकै छ ।

पन्ध्रौँ दिन : यस दिन परिक्रमाका यात्रीहरु जनकपुर आइपुग्छन् । यो यात्राका अन्तिम दिन हो । फागुपूर्णिमाको सन्ध्यामा जनकपुरमा विश्राम गरी पूर्णिमाको बिहानै जनकपुरको पञ्चकोशी परिक्रमा (अन्गगृह) पछि श्रद्धालु जानकी मन्दिरलगायत अन्य मठमन्दिरहरुमा दर्शन र पूजा गरी घर फर्कन्छन् ।

यसरी मिथिला परिक्रमाको १५ दिने यात्रा समाप्त हुन्छ । परिक्रमा यात्रीका लागि बाटोमा पर्ने विभिन्न स्थानमा पानी, सर्वत, नास्ता, औषधि आदिको व्यवस्था गरिएको हुन्छ । माध्यमिकी परिक्रमा क्षेत्रको अधिकांश भूभाग नेपालमा पर्ने गर्छ । परिक्रमामा सहभागी हजारौँ यात्रु र सो अवसरमा डोला विश्राम गर्ने मेलामा सहभागी लाखौँ श्रद्धालु भक्तजनको भीडलाई व्यवस्थित तथा नियन्त्रण गर्न सरकारीलगायत गैरसरकारी क्षेत्रका संस्थाहरु प्रयासरत रहेका छन् ।रासस


२ फाल्गुन २०७४, बुधबार १५:२६ मा प्रकाशित