दुई कृति विमोचन

दूरबिन नेपाल     २ फाल्गुन २०७४, बुधबार १७:३९ | ७१ पटक पढिएको

काठमाडौँ, २ फागुन/ काशीराज पाण्डे भागवत प्रतिष्ठानद्वारा प्रकाशित ‘भागवतमय जीवन’ स्मृतिग्रन्थ तथा साहित्यकारद्वय डा प्रद्युम्नराज पाण्डे र डा नम्रता पाण्डेद्वारा लिखित ‘आफ्नै किताब’ कृतिको आज विमोचन गरिएको छ ।

लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको प्रतिष्ठानले आफ्नो पुर्खाको अभिलेख राख्न लेखिएको कृति ‘भागवतमय जीवन’ तथा पाण्डे दम्पतीद्वारा लिखित ‘आफ्नै किताब’ कृतिको नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विष्णुविभू घिमिरेले विमोचन गर्नुभएको हो ।

उपकुलपति घिमिरेले भागवतमय जीवन कुनै परिवारको अभिलेख मात्र नभएर सामाजिक कृति भएको बताउनुभयो । उहाँले पुस्तकले एक परिवारको जीवन अरू परिवारका लागि ज्ञान हुने हुँदा उक्त कृति सबैका लागि पठनीय हुने उल्लेख गर्नुभयो ।

कृतिको समीक्षा गर्दै साहित्यकार ठाकुर शर्माले भण्डारी ‘भागवतमय जीवन’ आध्यात्मिक धरातलमा उभिएर आएको पुस्तक भएको बताउनुभयो । सामाजिक, धार्मिक र सांस्कृतिक क्षेत्रका प्रखर विद्वान काशीराजको परिवारले आफ्नो जीवनमा गरेका संघर्षलाई पुस्तकमा उजागर गरिएको छ ।

‘आफ्नै किताब’ कृतिको समीक्षा गर्दै राष्ट्रिय समाचार समिति (रासस)का सम्पादक एवम् साहित्यकार श्याम रिमालले कृतिले ओशो चिन्तनको आध्यात्मिक बाटोमा डोे¥याएको बताउनुभयो । साहित्यकार रिमालले पुस्तकभित्र केही शब्द र वर्ण विन्याशमा कमीकमजोरी रहेको र संयुक्त पुस्तकमा लेखकका एक्लाएक्लै भनाइ आए पनि समग्रमा पुस्तक पठनीय रहेको बताउनुभयो ।

प्रतिष्ठानका उपाध्यक्ष शंकरप्रसाद पाण्डे, पूर्वअर्थमन्त्री शंकर कोइराला, नेपाल शिक्षा परिषद्का कोषाध्यक्ष भीमबहादुर अधिकारी, गाउँ सेवा परिषद्का अध्यक्ष डा धनबहादुर राना, प्रतिष्ठानका सल्लाहकार खगराज पाण्डे, सदस्य प्रभा पाण्डे लगायतले काशीराज पाण्डे समाजसेवी र आध्यात्मिक चिन्तक भएको भन्दै उहाँको योगदानलाई आम जनतासामु लैजानुपर्नेमा जोड दिनुभयो ।

स्याङ्जा जिल्लाको विर्घा गाउँमा जन्मनुभएका काशीराज पाण्डेको विसं २०२९ मा निधन भएपछि उहाँको सम्झनामा विसं २०५५ मा प्रतिष्ठान स्थापना गरी सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको प्रतिष्ठानका अध्यक्ष अनन्त पाण्डेले जानकारी दिनुभयो ।रासस


२ फाल्गुन २०७४, बुधबार १७:३९ मा प्रकाशित