मलाई किन कोभिड–१९ भएन ?

दूरबिन नेपाल     १८ असार २०७७, बिहीबार ०३:३८    

मलाई किन कोभिड–१९ भएन ?

तारा भट्टराई, न्युयोर्क

केहीदिन अघि मैले मेरो शरीरमा विगतमा कोरोना भाइरसको संक्रमण भएको थियो कि थिएन भनेर हेर्नलाई एण्टिबडी परिक्षण गराएकी थिए । मेरो परिक्षणको नतिजा नकारात्मक आयो । नतिजासँगै आज दिनभर नै मनमा अनेकन प्रश्नहरु उब्जिए । कोरोनाभाइरसको ईपिसेन्टरमा बेडरूमलाई क्वारान्टाईन बनाएर घरमा बस्न नरुचाउने मध्येकी पात्र मध्ये म पनि एक हुँ । मार्च महिनाको दोस्रो हप्तादेखि हालसम्म मैले हजारौको सँख्यामा कोभिड–१९ का बिरामीहरुसँग उठबस गरिसकेकी छु । कोरोनाको पीक आवर मानिएको अप्रिल महिनामा दैनिक हजारौ मानिसहरुले ज्यान गुमाउँदै गर्दा म सातैदिन काममा ब्यस्त हुन्थें ।
त्यसैताका मेरो घर, परिवार, मेरा साथिहरु सबै कोभिड लागेर एक एक गर्दै थला परेपछि मलाई सपिंग मलमा गएर लामो लाईन छिचोलेर सपिंग गर्न, खाना पकाएर साथी भाईहरुको ढोकामा तात्तातो खाना डेलिभरी गर्न, घरमा अनि काममा समेत बिरामी स्याहार गर्न भ्याई नभ्याई हुन्थ्यो । करिब अढ़ाई महिना त मैले आफु र आफ्नो बारेमा सोच्न पनि भ्याईन । केहि हप्ता देखि न्यूयोर्कमा दैनिक मृत्युदर र संक्रमण कम हुदै गएपछि मेरो दैनिकी पुरानै रुटिनमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरन्जनमा फर्केको छ ।
यतिचाँडै यस्तो अवस्थामा मेरो जीन्दगी आईपुग्ला भनेर सोचेको पनि थिएन । त्यतिबेला पीपीई पनि उपलब्ध थिएन । ती दिन सम्झदा अहिले आंङ नै जिरिंङ्ग भएर आउंछ । मास्कको अभाव छ भन्नेकुरा मिडीयाबाट थाहा पाएर मेरा केहि अमेरिका बाहिर बसोबास गर्ने पुराना मित्रहरुले खाममा मास्क हालेर उपहार भनि पठाउदा म जिवनमा सबैभन्दा ठुलो उपहार पाएको भन्ठानेर खुशीले रोएकी थिएँ । बर्षमा एकदुईपटक मात्रै कुराकानी हुने ती साथीहरुले जिवननै उपहार दिए जस्तो लाग्थ्यो ।
अहिले फुर्सद मिलेपछि मैले एण्टिबडी परिक्षण गराए । हुन त हप्तामा दुई पटक स्वाब टेस्ट गरिन्छ त्यस्ले एक्टिभ संक्रमण मात्रै देखाउछ । मेरो एण्टिबडी नतिजा नेगेटिभ आउनुमा मलाइ के लाग्छ भने एक त एण्टिबडी टेस्ट नै भरपर्दाे छैन र धेरै फल्स नेगेटिभ हुन्छ अथवा मलाई बिगतमा पोजेटिभ वा संक्रमित भएर पनि नेगेटिभ आएको हुन सक्छ । अथवा मैले राम्रोसँग precautions लिएकोले पनि हुनसक्छ । अर्काे कुरा लामो समय पछि टेस्ट गरेकालेपनि हुनसक्छ अथवा मैले २०१६ मा BCG vaccine लगाएर मलाई नलागेको पनि हुनसक्छ । हरेक १० जनामानिस मा ४ जनालाई कोरोना संक्रमण हुँदैन भन्ने theory मा परेर पनि हुनसक्छ । मेरो रक्त समुह ए प्लस हो र यो रक्त समुहका मानिसहरु चाहि भाईरसलाई मन पर्दैन कि वा अझै लाग्नै बाँकि रहेको पनि हुनसक्छ । अथवा कारण जे भन्दिएपनि हुन्छ । म कुनैपनि flu vaccine मा बिश्वाश गर्दिन र आजसम्म लिएको पनि छैन ।
मेरो निजी अनुभवको आधारमा निस्कर्षमा भन्नुपर्दा कोरोना भाईरस स्वासप्रश्वास सम्बन्धी रोग भएका मानिसहरुका लागी एकदमै घातक हो । तर अन्यरोग भएका मानिसहरु भने आफ्नो राम्रो ख्याल राख्न सके केहि डराउनु पर्दैन ।
न्यूयोर्कमा अझैपनि मानिसहरुको म्रत्यु भैरहेकै छ । यता १० बर्ष देखि एचआईभी एड्स, किड्नी डायलिसिस, रक्तचाप, मुटुरोगी (ब्याट्रि राखिएका ) र सुगर भएर खुट्टा काटिएका मानिसहरु पनि निको भएर सामान्य जिवनमा फर्किसकेका छन् । त्यसैले केहि नहुन्जेल केहि हुन्न र मिति पुगेको भए एक सेकेन्ड पनि बाँचिन्न ।
लेखिका न्युयोर्कमा स्वास्थ्यकर्मी हुनुहुन्छ

PlutonicTech

१८ असार २०७७, बिहीबार ०३:३८ मा प्रकाशित