नेपाल आदिवासी जनजाति महांसंघ अमेरिका (फिप्ना)ले नेपालमा राहत वितरण गर्दै पहिलो चरणको राहत वितरण कार्यक्रम उपत्यका र बाहिरका केहि जिल्लाहरुमा हुने

दूरबिन नेपाल     २१ असार २०७७, आईतवार ०१:२६    

नेपाल आदिवासी जनजाति महांसंघ अमेरिका (फिप्ना)ले नेपालमा राहत वितरण गर्दै

दूरबिन नेपाल, न्युयोर्क
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना, ले नेपालमा खाद्यान्न लगायतका राहत सामग्री वितरण गर्ने जनाएको छ । पहिलो चरणको राहत वितरण उपत्यका र बाहिरका केही जिल्लाहरुमा गरिने फिप्नाले विज्ञप्ति जारी गर्दै जनाएको छ
फिप्नाका अध्यक्ष लोक चेम्जोङद्वारा जारी विज्ञप्तिमा राहत वितरण असार २१ गते देखि ३१ गतेसम्म पहिलो चरणमा उपत्यका भित्रका विभन्न स्थानमा र असार २२ गतेदेखि उपत्यका बाहिरका विभिन्न जिल्लाहरुमा गरिने जनाइएको छ । विज्ञप्तिमा जनाइए अनुसार पहिलो चरणमा असार २१ गते देखी २९ गते सम्म काठमाण्डौ उपत्यकाका अनाथालय, बृद्धबृद्वा, सडक तथा असाहाय बालबालिका, घरबार विहिन, बटुवा र मजदुरलाई लक्षित गरि राहत वितरण गरिनेछ । पहिलो चरणमा दश दिनसम्म लगातार विभिन्न ठाउहरूमा खाना वितरण गर्ने र पशुपति क्षेत्र, रत्नपार्क, नयाँ वसपार्क, हनुमानढोका परिसर तथा विभिन्न बुद्धाश्रम तथा अनाथालयहरूमा विभिन्न सामग्री वितरण गरीने छ । एक पटकमा ३०० जनालाई स्वस्थ खाना वितरण गरिने जनाइएको छ । साथै उपत्यकाका केही घरबिहिनहरूलाई त्रिपाल समेत बितरण गरिने छ ।
त्यसैगरि पहिलो चरणको राहत वितरण कार्यक्रम अन्तर्गत नै उपत्यका बाहिरका केहि जिल्लाहरु तोकिएको छ । उपत्यका बाहिरका दलित तथा सिल्पी, सिमान्तकृत, अति विपन्न समुदाय र सुकुम्बासी क्षेत्रहरूलाई प्राथमितामा राखिएको फिप्नाले जनाएको छ । सो अनुसार असार २२ गते सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं. एक का मुसहर समुदाय, असार २५ गते दैलेख जिल्लाको गुराँस गाउँपालिका वडा नं. ५ मा राउटे समुदाय र असार २६ गते धनकुटा जिल्लाको तमोर कोरीडोरको लेउती बगर क्षेत्रका मजदुरहरूलाई खाद्यान्न सामाग्री वितरण गरिनेछ । साथै तमोर कोरीडोरका माँझी समुदाय तथा मकवानपुरका चेपाङ समुदायलाई प्रथम चरण अन्तर्गत राहत वितरण गरीने र त्यसको मिति पछि टुंग्याइने जनाइएको छ । राहत अन्तर्गत हरेक परिवारले २५ केजी चामल, दाल २ केजी, एक पोका नुन १ र तेल १ लिटर पाउनेछन । साथै राउटे समुदायलाई प्रति परिवार एक एकवटा टेन्ट समेत वितरण गरीने जनाइएको छ । राहत वितरणको सम्पूर्ण आर्थिक व्यावस्थापन नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना)द्वारा गरिने अध्यक्ष चेम्जोङले जनाएका छन ।
राहत वितरणको समन्वयात्मक भुमिका नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् सचिवालय काठमाण्डौले गर्नेछ भने र स्थानीय निकाय लगायत, नेफिनको प्रदेश, जिल्ला तथा नगरपालिका र गाउँपालिका स्तरीय समिती तथा संस्थाहरू, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ नेपाल, दलित जागरण केन्द्र, लेउती जलाधार प्राकृतिक सांस्कृतिक प्रवर्धन समिति, लगायतको सहकार्य हुने फिप्नाले जनाएको छ ।
मार्च महिना देखी जुन महिना सम्म कोरोना भाईरसको केन्द्रविन्दु बनेको न्यूयोर्कमा फिप्नाले संस्थागत रूपमा टाईनल, माक्स, ग्लब्स तथा हेण्ड सेनिटाईजर ठुलो मात्रामा गरेको थियो । विज्ञप्तिमा नेपालमा अहिले कोरोनाको प्रक्रोप बढ्दै गएको तर सरकारी कदम निस्प्रभावी भएकोले मातृभुमीप्रतिको कर्तव्यलाई बोध गर्दै राहत वितरण गर्न लागिएको जनाइएको छ । नेपालको विभिन्न ठाउँमा रहेका अति विपन्न परिवारलाई सहयोग गर्ने अभियान अन्तर्गत फिप्नाले सहयोग संकलनपनि गरिरहेको छ । यस अभियानमा सघाउन अनुरोधपनि गरिएको छ ।


२१ असार २०७७, आईतवार ०१:२६ मा प्रकाशित