पार्कल्याण्ड, फ्लोरिडा स्थित हाइस्कूलमा गोली चल्यो, कम्तिमा दुई जनाको मृत्यु, दर्जनौं घाइते

दूरबिन नेपाल     २ फाल्गुन २०७४, बुधबार २३:०९ | १९७ पटक पढिएको

फ्लोरिडा, फेब्रुअरी १४

बुधवार दिउँसो स्कूल समय सकिनु केही अघि मात्र पार्कल्याण्ड, फ्लोरिडा स्थित मार्जोरी स्टोनम्यान डग्लस हाइस्कूलमा भएको गोलीकाण्डमा कम्तिमा दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन्।
ब्रोडवार्ड काउण्टी पव्लिक स्कूल सुपरिटेण्डेण्ट रोबर्ट रुन्सीका अनुसार कैयन संख्यामा हताहती भएको हुनसक्ने र एकिन संख्या भने थाहा भैसकेको छैन।

घटनास्थलमा तत्काल पुगेको ब्रोडवार्ड काउण्टी सेरिफका अधिकारीहरुले संभावित आरोपितलाई हिरासतमा लिएकाछन् भने घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा आपतकालीन उपचारका लागि लगिएको जनाइएको छ। सम्वन्धित सुरक्षा अधिकारीहरुले घटनाको अनुसन्धान गरिरहेका छन् र थप विवरण आउन केही समय लाग्ने उनीहरुले संचार माध्यमहरुलाई बताएका छन्। सिएनएन लगाएतका संचारमाध्यमहरुका अनुसार मान्छेहरु ज्यान बँचाउनलाई आत्तिएर भागदौड गरिरहेका थिए। भाग्यले बाँच्न सकेकाहरु बन्दुक बोक्नेहरुले सार्वजनिक सुरक्षामा चुनौती थपेको र आम मानिसहरुमा डर बढाएको भनिरहेका थिए।

‘भ्यालेन्टाइन्स डे’ को खुसियालीमा रमाउन ठिक्क परेको फ्लोरिडा सहित सम्पूर्ण अमेरिकीहरुलाई आजको गोलीकाण्डले नराम्रो पिडा थपेको छ। हिंसा नचाहनेहरुका लागि फेरि एकपटक बन्दुक-अधिकार बहसको विषय हुने पक्का छ। स्कूलहरुमा भैरहेको श्रृंखलाबद्ध गोलीकाण्डहरुले स्कूलका बालबालिकाहरुको सुरक्षा खतरा बढाएको आंकलन गरिएको छ।

तस्वीर: सिएनएन


२ फाल्गुन २०७४, बुधबार २३:०९ मा प्रकाशित