काँग्रेस संसदीय दलको नेतामा देउवा र सिंह भिड्ने चर्चा, कुनै एक नेतामा सर्वसम्मतको प्रयास जारी

दूरबिन नेपाल     १७ फाल्गुन २०७४, बिहीबार १७:०२    

काठमाडौं, १७ फाल्गुन/ नेपाली काँग्रेसका नेताहरुले पार्टी संसदीय दलको नेता सर्वसम्मतिमै चयन गर्नुपर्नेमा जोड दिएका छन । पार्टी सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंहले संसदीय दलको नेताका लागि उम्मेदवारी दिने तयारी भईरहँदा पार्टीका नेताहरुले सर्वसम्मतिमै दलका नेता चयन गर्नुपर्ने आवश्यक्ता औंल्याएका हुन ।
काँग्रेस नेता भीमसेनदास प्रधानले देश, जनता र पार्टीको हितका लागि पनि संसदीय दलको नेता चयनका लागि निर्वाचनमा जान उपयुक्त नहुने तर्क गर्नु भयो । उहाँले पार्टीलाई एकतावद्ध बनाएर लैजाने सन्देश दिन पनि नेताहरुले दलको नेतामा प्रतिस्पर्धा गर्न नहुने पनि बताउनु भयो ।
नेता मोहम्मद अफताव आलमले संसदीय दलको नेता सर्वसम्मतिमै चयन हुने दावी गर्नु भयो । उहाँले पार्टीले निर्वाचनमा पराजय व्यहोरेको बेला दलको नेता चयनमा विवाद गरिरहन नहुनेतर्फ पार्टी नेतृत्वको गम्भिर ध्यानाकर्षण गराउनु भयो । नेता आलमले ५ वर्ष भित्र पार्टीलाई पुरानै अवस्थामा फर्काउन पनि दलको नेता चयन सहमतिकै आधारमा गर्न उपयुक्त हुने सुझाव पनि पार्टी नेतृत्वलाई दिनु भयो ।
त्यसैगरी नेता तुलानारायण चौंधरीले जुन नेताको नाममा सहमति हुन्छ, उसैलाई दलको नेता चयन गर्नुपर्ने धारणा राख्नु भयो । उहाँले पार्टी कमजोर भएको बेला नेताहरुले दलको नेताका लागि प्रतिस्पधर्धा गर्न नमिल्ने तर्क गर्नु भयो ।
काँग्रेस सांसद पुष्पा भुसालले सर्वसम्मतिमै संसदीय दलको नेता चयन गर्न प्रयास गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । संसदमा प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउने गरी पार्टीलाई एकतावद्ध बनाउन पनि संसदीय दलको नेता सहमतिमा चयन गर्न उपयुक्त हुने उहाँको सुझाव छ ।
निर्वाचनका लागि सभापति देउवाको उम्मेदवारीलाई स्वभाविकै दावेदारको रुपमा हेरिएको छ भने पूर्व महामन्त्री सिंहले देउवा पूर्णता असफल भएको दावी गर्दै आफूले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पनि पार्टीले निर्वाचनमा हार व्यहोरेको बेला देउवाले संसदीय दलको नेतामा दावी गर्न नहुने तर्क गर्दै आएका छ ।
नेपाली काँग्रेस संसदीय दल निर्वाचन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि औपचारिक रुपमा १८ गते निर्वाचन कार्यतालिका प्रकाशन गर्ने र २० गते उम्मेदवारी दर्ता गरी २१ गते अपराह्न ४ बजे संघीय संसद्को बैठक बस्नुभन्दा अगाडि संसदीय दलको निर्वाचन गर्ने तयारी गरेको छ । समितिको संयोजकमा श्रेष्ठ तथा सदस्यमा केन्द्रीय सदस्य नवीन्द्रराज जोशी र भीष्मराज आङ्दम्वे हुनुहुन्छ ।


१७ फाल्गुन २०७४, बिहीबार १७:०२ मा प्रकाशित