निर्वाचनको समिक्षा गर्न तयार नभएको भन्दै सभापति देउवाप्रति पौडेलको आक्रोश

दूरबिन नेपाल     १८ फाल्गुन २०७४, शुक्रबार १६:२३    

काठमाडौं, १७ फागुन/ नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेतामा लोभ नगर्न आग्रह गर्नु भएको छ । नेता पौडेलले पार्टीको वृहत्तर हितका लागि पनि सभापति देउवाले संसदीय दलको नेतामा दावी गर्न नमिल्ने तर्क गर्नु भयो । उहाँले सभापति देउवालाई सर्वसम्मतिमा संसदीय दलको नेता चयन गर्ने वातावरण बनाउन पनि सुझाव दिनु भयो ।
शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले संसदीय दलको नेतालाई सर्वसम्मतिमा चयन गरेर पार्टी एकतालाई बलियो बनाउने दायित्व पनि पार्टीको मूल नेतृत्वकै भएको स्मरण गराउनु भयो । आगामी सोमबार काँग्रेस संसदीय नेताको नेता चयन हुँदैछ । त्यसका लागि सभापति देउवाले आफै उम्मेदवारी दिने घोषणा गरिसक्नु भएको छ । नेता पौडेलले सभापति देउवाले संसदीय दलको नेतामा आफै उम्मेदवारी दिने घोषणा पार्टी हितमा नहुने दावी गर्नु भयो । उहाँले पार्टी संसदीय दलको नेता सर्वसम्मत बनाउने दायित्व पार्टीको मूल नेतृत्वकै भएको पनि बताउनु भयो ।
नेता पौडेलले निर्वाचनको समिक्षा समेत गर्न तयार नभएको भन्दै सभापति देउवाप्रति आक्रोश पनि व्यक्त गर्नु भयो । उहाँले आफूहरु महाधिवेशनको माध्यामबाट पार्टी नेतृत्व परिवर्तन गर्न लागि परेको समेत स्पष्ट पार्नु भयो ।


१८ फाल्गुन २०७४, शुक्रबार १६:२३ मा प्रकाशित