अमेरिका, जुन २८, २०१८
अमेरिकी राष्ट्रपति ट्रम्प र रसियन राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी जुलाई १६ मा फिनल्याण्डको राजधानी शहर हेलसिन्कीमा शिखरवार्ता हुने भएको छ। ह्वाइटहाउस र क्रेमलिनले एकैसाथ वार्तास्थल र मिति घोषणा गरेका हुन्। ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले बुधवार मस्को भ्रमण गरेपछि वार्ता मिति र स्थल तय भएको हो। यसै महिनाको शुरुतिर क्यानडामा भएको ‘जि-सेभेन’ देशहरुको शिखर सम्मेलनमा रसियालाई पनि सो समूहमा पून प्रवेश गराउनु पर्ने बताएका अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनसंग गर्न लागेको वार्तालाई अमेरिकाको यूरोपेली साझेदारहरुलाई मन परेको छैन।
रसियासंगको सम्वन्ध सुधार गर्नु विश्व शान्तिका लागि र अमेरिकी सुरक्षा चासोहरुलाई सम्बोधन गर्नका लागि पनि दुबै राष्ट्रपतिहरुबीच वार्ता हुनु जरुरी रहेको ह्वाइटहाउस नजिकका व्यक्तिहरुको तर्क रहेको पाइन्छ।
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएयता रसियन राष्ट्रपति पुटिनसंग अन्तराष्ट्रिय मन्चहरुमा साइड-लाइन भेटघाटमात्र गरेका ट्रम्पले रसियासंगको मिलिभगतमा राष्ट्रपति निर्वाचनलाई प्रभावित पारेको भनेर विपक्षी डोमोक्रेटहरुबाट देशभित्र आरोप खेपिरहेकै बेला हुन लागेको ट्रम्प-पुटिन शिखरवार्ताले सर्वत्र चासो सृजना गरेको छ। तत्कालिन सोभियतसंघको पूर्वी यूरोपमा अति चलखेल हुन थालेपछि अमेरिकाको यूरोपियन मित्रशक्तिहरुको संलग्नतामा अमेरिकाले रुस बिरुद्द गरेको शीत-युद्धको शुरुवात पनि हेलसिन्कीबाटै भएको थियो। सोभियतसंघको विघटन पछि भने अमेरिका-रुस शीतयुद्ध मत्थर हुँदै गयो र अन्तराष्ट्रिय मंचहरुमा अमेरिका र रुस संगसंगै देखिन थालेका थिए। तर रुसले २०१४ मा युक्रेनी भूभाग क्राइमियालाई नाटकीयरुपमा आफूमा गाभेपछि भने अमेरिका-रुस तथा रुस-यूरोप सम्वन्ध खराब हुँदै गयो र गत अमेरिकी राष्ट्रपति चुनाव ताका त कुटनीतिज्ञहरु निष्कासनको हदसम्म पुगेको थियो।
प्रस्तावित ट्रम्प-पुटिन शिखरवार्ताले अमेरिका र रुसबीच सम्वन्ध सुधार हुने र अन्तराष्ट्रिय तथा राष्ट्रिय सुरक्षा सवालहरुमा संगसंगै जाने वातावरण बन्नेमा अन्तराष्ट्रिय विश्लेषकहरु आशावादी देखिएका छन्।
तस्वीर: गुगल/ द टेलिग्राफ
प्रतिक्रिया लेख्नुहोस्:-